काठमाडौं, जेठ ६ – सप्तरीमा कोरोना संक्रमण दर बढेपछि जिल्ला प्रशासन कार्यालयले वित्तीय संस्था बन्द गर्न निर्देशन दिएको छ । कार्यालयले विहीबारदेखि बैंक तथा वित्तीय संस्थाहरु सात दिनका लागि बन्द गर्न निर्देशन दिइएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जिल्लाका सबै बैंक तथा वित्तिय संस्था बन्द गर्न सूचना जारी गरिएको जानकारी दिए । जिल्लाका सबै कार्यालयलाई गाडी तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ ।
आवश्यकता अनुसार सरकारी सबै गाडी कोभिड रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा प्रयोग गर्न तयारी राख्न आदेश जारी गरेको उनको भनाइ छ । कोभिड रोकथाम तथा नियन्त्रण गर्न सबै निकायलाई आग्रह पनि गरिएको छ ।
सप्तरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । दुई दिनअगाडि मात्र सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोनाबाटै निधन भएको थियो । अहिले सक्रिय संक्रमित पनि तीब्र गतिमा बढ्न थालेपछि प्रशासनले स्वास्थ्य सतर्कता अपनाउन सबैसँग अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS