काठमाडौं, फागुन १६ –समाजसेवी डाक्टर शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ ।५० वर्षसम्म बिरामीहरूको सेवा गरेका डा. उप्रेती नेपाली कांग्रेस झापाका पुराना नेता एवम् राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुन् ।भारतबाट एमबीबीएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका डा. उप्रेतीले थप ४० वर्ष झापाको शनिश्चरेमा बसोबास गरी त्यस क्षेत्रका बिरामीहरुको निःशुल्क उपचार गरेका थिए ।
उनले लेखेको आत्मसंस्मरणको कृति ‘जीवन एक सपना’मा आफ्नो संघर्षमयी जीवनयात्रा, राजनीतिक उहापोह र व्यापारिक बन्दै गएको समयको झलक समेटिएको छ ।झापा र आसपासका जिल्लामा ‘डाक्टर बा’ नामले चिनिएका उप्रेतीले निःस्वार्थ जनताको सेवा गरेका थिए । उनको दाहसंस्ककार आइतबार नै गरिएको छ ।
यसैबीच डा. उप्रेतीको निधनमा शोक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको बताएका छन् ।
FACEBOOK COMMENTS