अन्जनराज न्यौपाने
तनहुँ, १५ माघ – पूर्वराष्ट्रपति डा रामवरण यादवले समुदायको सक्रियता र निरन्तरताले शिक्षा क्षेत्रको चौतर्फी विकास सम्भव हुने बताएका छन्। जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा स्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको स्वर्णमहोत्सव समारोहमा संंबोधन गर्दै पूर्वराष्ट्रपति यादवले मुलुकमा राजनीतिक परिवर्तन भए पनि मुलुकको शिक्षामा सुधार भने हुन नसकेको बताए। पूर्व राष्ट्रपति यादवले समुदायको निरन्तरता र खबरदारी नभएसम्म शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुन नसक्ने बताउदै उनले शिक्षामा प्रतिस्पर्धा गर्न सक्ने खालको दक्ष, ईमानदार र कर्मठ जनशक्ति उत्पादन गर्नूपर्नेमा जोड दिए।
‘प्रत्येक विधार्थी, शिक्षक र अभिभावकको त्रिपक्षीय सम्बन्ध प्रगाढ बनाउदै एक आपसमा हातेमालो गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्न अनवरत रुपले शिक्षक विधार्थी र अभिभावकको लगन, मेहनत र जिम्मेवारी प्रत्येक ऐकेडेमिक फिल्डमा अति आवश्यक रहेको छ’ उनले भने। विद्यालयको वर्तमान यस अवस्था सम्ममा आइपुग्न समुदायको नै ठूलो देन रहेको भन्दै ग्रामीण क्षेत्रको नजिक भएर पनि २३ सय बढि विद्यार्थीहरु हुनु उच्चस्तरीय गौरवको विषय भएको बताउदै उनले खुसी ब्यक्त गरे।
शिक्षा क्षेत्रमा तुलनात्मक रुपमा अन्य पेशामा झै परिवर्तन अझैपनि हुन नसकेको र व्यवहारमुखी, प्राविधिक शिक्षा हुनु वर्तमान शिक्षा प्रणालीमा अति आवश्यकता रहेको बताए । उनले विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, व्यवस्थापन र पशुविज्ञान गरी चार वटा संकायहरु हाल सञ्चालनमा आउनु भनेको ग्रामीण क्षेत्रमा बसोबास गर्ने दुरदराजका विपन्न वर्गका समुदायका विद्यार्थीहरुलाई सरल ,सहज र सुविधायुक्त विद्यालय भएको भन्दै प्रदेश कै नमुना विद्यालय बनाउन सबै पक्षले राजनैतिक आग्रह ,पुर्वाग्रह भन्दा माथि उठेर लाग्न आग्रह गरे।
कक्षा१ देखि १२ सम्म जम्मा कुल२३ सय ३४ विद्यार्थीहरु अध्ययन गर्दै आएको उक्त विद्यालयमा ८३ जना शिक्षक र १४ जना कर्मचारी रहेका छन । ‘७ ओटा पूर्वाधारयुक्त अत्याधुनिक सुविधा सम्पन्न भवन, ४ वटा स्कुल बस सहितको सुविधा सम्पन्न विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो क्रममा रहेको देख्दा आफुलाई खुसी लागेको छ’ उनले भने। विज्ञान र प्रविधिलाई शिक्षासँग जोड्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको बताउँदै पूर्व राष्ट्रपति यादवले बालबालिकालाई लागू औंषध र दुव्र्यसनीबाट बचाएर एक ब्यवहारिक सुयोग्य, दक्ष, कर्मठ ,मेहनती बन्न अभिप्रेरित गर्नुपर्नेमा उनले जोड दिए । अबको युग प्राविधिक शिक्षाको युग भएको चर्चा गर्दै उनले प्राविधिक शिक्षामा सरकारले लगानी बढाउनुपर्नेमा समेत बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका संसद सदस्य एवं पूर्वमन्त्री आशा कोइराला, नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ लगायतले शिक्षा क्षेत्रको विकासका लागि सरोकारवाला शिक्षाप्रेमी सबै पक्ष एक भएर सधै जिम्मेवार बनेर लाग्नुपर्नेमा जोड दिए ।
विद्यालयले आगामी ५ बर्ष भित्रमा आधारभूत तहका लागि छुट्टाछुट्टै विज्ञान र कम्प्यूटर प्रयोगशाला एवं पुस्ताकलय, २सय जना क्षमताको छात्रावास, शिक्षकका लागि आवास र विद्यार्थीहरुका लागि पौडीपोखरी, चिल्ड्रेनपार्क, खेल्नेकोठा, नाच्ने कोठा, सुत्ने कोठा, व्यवस्थित चमेना गृह निर्माण गर्ने योजना रहेको सोही विद्यालयका शिक्षक लक्ष्मण पुरीले बताए ।
FACEBOOK COMMENTS