काठमाडौँ,२१ फागुन — अघिअघि प्रधानमन्त्री केपी शर्मा दाहिने हात माथि उठाएर पञ्जा फैलाउँदै अभिवादन गर्दै राष्ट्रिय सभागृहको सभाहलमा प्रवेश गरे । उनका पछि थिए नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’ । उनले दाहिने हात माथि उठाएर मुठ्ठी कस्दै अभिवादन गरे ।
प्रधानमन्त्री ओलीले विप्लवको हात समाते अनि दुवैले हात माथि उठाए । यसो गर्दा ओलीले विप्लवको नाडीमा समातेको देखिएको थियो ।
प्रधानमन्त्री कुर्सीमा बसे । बस्नै लागेका विप्लव सिधा भएर उभिए । फेरि उनी बस्न लागेका के थिए, प्रधानमन्त्री ओलीले नबस्न हातले इशारा गरे । निमेषभरमै राष्ट्रिय गान बज्यो । सबै सहभागीहरू उभिए । अन्तिममा विप्लवले ताली बजाए, प्रधानमन्त्रीले पनि त्यसै गरे ।
यसपछि शदीदहरूको स्मरणमा एक मिनेट मौन धारण भयो ।
वल्लोपल्लो कुर्सीमा रहेका प्रधानमन्त्री ओली र विप्लव गम्भीर मुद्रामा देखिन्थे । कुर्सीको लहरमा बीचमा बसेका प्रधानमन्त्रीका दायाँतर्फ क्रमशः उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र नेता सुवासचन्द्र नेम्वाङ थिए । दायाँतर्फ क्रमशः विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदय चलाउने ‘दीपक’ थिए ।
स्वागत मन्तव्यका लागि बोलेका विप्लव पक्षको वार्ता टोलीका सदस्य दीपकले क्रमशः प्रधानमन्त्री, आफ्नो पार्टीका महासचिव र उपप्रधानमन्त्रीलाई सम्बोधन गरे । उनले आजको दिनलाई ‘इतिहासको आकस्मिकता र संयोग तथा ऐतिहासिक दिन’ भने । उनले आफ्नो पार्टी जनताका अपेक्षा पूरा गर्न तथा देशमा शान्ति र स्थिरता कायम गर्न प्रयासरत रहेको बताए ।
स्वागत मन्तव्यपछि सरकारी वार्ता टोलीका सदस्य रहेका समारोहका उद्घोषक राजन भट्टराईले वार्ताको पृष्ठभूमिबारे जानकारी गराए । उनका अनुसार दुवै पक्षबीच करिब एक वर्षदेखि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संवाद चलिरहेको थियो ।
भट्टराईले तीन बुँदे संक्षिप्त सहमतिपत्र पढेर सुनाए । यसपछि सरकारको तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री थापा र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट वार्ता टोलीका संयोजक प्रकाण्डले हस्ताक्षर गरे । सभाहल तालीको गडगडाहटले गुञ्जायमान भयो ।
भट्टराईले राष्ट्रिय सभागृहमा भएको यो तेस्रो महत्त्वपूर्ण हस्ताक्षर हो भने । यहीँ तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि सिके राउतसँग पनि सहमतिको हस्ताक्षर यहीँ भएको थियो । ओली र प्रचण्ड अलगअलग भइसकेका छन् ।
हस्ताक्षरपछि पार्टीको तर्फबाट बोलेका महासचिव विप्लवले पहिले दुवैतर्फका वार्ता टोलीलाई र त्यसपछि प्रधानमन्त्रीलाई सम्बोधन गरे । उनले फेरि अभिवादनमा कसिलो मुठ्ठी उचाल्दै ‘न्यानो लाल सलाम’ भने ।
उद्घोषक भट्टराईले विप्लवको पार्टीका कुनै पनि नेताको पूरा नाम लिएनन् । उनले महासचिव कमरेड विप्लव, सदस्य कमरेड दीपक भनेर उपनाममात्रै उच्चारण गरे ।
विप्लवपछि मुख्य वक्ताका रूपमा बोलेका प्रधानमन्त्री ओलीले विप्लवलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव भन्दै उपनामसहित पूरा नामले सम्बोधन गरे । वार्ता टोलीका संयोजक रहेका प्रकाण्डलाई खड्गबहादुर विश्वकर्मा भनेर पूरा नाम लिए अनि भने— प्रकाण्ड हो क्यारे नाम !
उद्घोषकले कञ्चन भनेर नाम लिएका व्यक्तिलाई प्रधानमन्त्री ओलीले धर्मेन्द्र बाँस्तोला भनेर नाम उच्चारण गरे । जेलमुक्त भएकोमा बधाई दिँदै भने— यति थोरै जेल बस्न पाए पो, आफू त चौध वर्ष !
सभा हलमा हाँसो फैलियो ।
प्रधानमन्त्रीले जेलमा रहेका अन्यलाई पनि प्रक्रिया पुर्याएर मुक्त गर्ने र मुद्दामामिला फिर्ता लिने जानकारी दिए ।
राष्ट्रिय सभागृहको सभाहल खचाखच भरिएको थियो । गर्मीले हपहप थियो । बाहिर ठूलो संख्यामा दुवैतर्फका कार्यकर्ताहरू उपस्थित थिए । विप्लवका कार्यकर्ताहरू रातो टिसर्टमा जम्मा भएका थिए ।
बाहिर सडकमा पनि निकै ठूलो भिड थियो । अपराह्न दुई बजे सुरु हुने भनिएको कार्यक्रम करिब पौने तीन बजे सुरु भएको थियो ।
विप्लव १८ मिनेट र प्रधानमन्त्री ओली ३७ मिनेट बोलेका थिए ।
दुवै जनाले २०२९ साल फागुन २१ गते जेल सार्ने नाममा झापाको सुखानी जङ्गलमा पञ्चायती शासकले वाम आन्दोलनका पाँच जना योद्धाको एकै ठाउँमा हत्या गरेको घटनाको स्मरण गरे । सहमतिपत्रमा हस्ताक्षर भएको आजको फागुन २१ र ४८ वर्षअघिको फागुन २१ को संयोग परेको बताए ।
प्रधानमन्त्री ओली र विप्लव दुवैले सहमतिलाई ऐतिहासिक उपलव्धिका रूपमा बयान गरे । दुवैले शान्ति, स्थिरता, विकास र समृद्धिका लागि सहमति गरेको बताए । प्रधानमन्त्रीले ‘अब देशमा हिंसात्मक द्वन्द्व बाँकी नरहेको’ घोषणा गरे ।
विप्लवले ‘सहकार्य र हातेमालो गर्न आफूहरू खुला भएको र सहमतिप्रति प्रतिबद्ध रहेको घोषणा’ गरे ।
प्रधानमन्त्रीले यो सहमति रातारात भयो भन्ने आफूले कतै पढेको भन्दै आठ वर्षअघि नै आफू र विप्लवबीच लामो कुरा भएको बताए ।
विप्लवको निधार टीको पुछेको जस्तो रातो देखिएको थियो । उनले आज गाउँमा ‘शहीद आमा’ ले आफूलाई टीका लगाइदिँदै शहीदका चाहना सम्झेर सहमति पत्रमा हस्ताक्षर गर्न सुझाव दिएको बताए ।
उनले ती ‘शहीद आमा’ को भनाइ उद्धृत गरे, ‘यो देशमा धेरैका चाहना पूरा भए, शहीदको र नेपाली जनताको चाहना पूरा भएको छैन ।’
निकै गम्भीर मुद्रामा देखिएका विप्लवले मन्तव्यको क्रममा एउटा गीतको अंश सुनाउँदै सरकार र आफ्नो पार्टीको भेटलाई घाम र जूनको भेटको उपमा दिए । ‘यो कस्तो प्रेम हो जून र घामको भेट नहुने जस्तो’ भन्दै उनी हाँसे ।
प्रधानमन्त्री ओलीले वेद र वेदव्यासको नाम लिए । वेदव्यासले १८ पुराण लेखे पनि वचन दुईवटा मात्रै थिए— परोपकार पुण्याय, पापाय परपीडनम् । उनका अनुसार सहमतिको सार देशको समृद्धि र जनताको सुख नै हो ।
प्रधानमन्त्री ओलीले विप्लवको पार्टीसँग सहमतिमा हस्ताक्षर गर्ने समारोहमा पनि आफूसँग छुट्टिएर गएका र आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेका नेताहरूलाई कटाक्ष गर्न र आक्रोश पोख्न छुटाएनन् ।
उनले कसैको नाम नलिई ‘केही मान्छे’ देशलाई बर्बाद पार्न लागेको बताए । उनले आफ्नो पार्टीको दुई तिहाइ भत्काएर किस्तीमा प्रधानमन्त्री पद बोकेर अन्तै हिँडेको भन्दै कटाक्ष गरे । संसदीय दलको नेता आफू यता रहेको र उता संसदीय दलको बैठक भएको भन्ने सुनेको भन्दै ‘नग्नताको हद’ भएको टिप्पणी गरे ।
प्रधानमन्त्रीले चेतावनी दिए— यो देशमा हाम्रो पार्टी पनि छ ।
उनले सधैँ झैँ अस्पतालहरूको शिलान्यास, पुलहरूको उद्घाटन र शिलान्यास, औद्योगिक क्षेत्र स्थापना, सुशासन, भ्रष्टाचार नियन्त्रण, इत्यादिको विवरण पनि प्रस्तुत गरे ।
समारोह करिब साढे एक घण्टा चलेको थियो ।
FACEBOOK COMMENTS