काठमाडौं, कार्तिक २५ – सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न समिति गठन गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाविरूद्ध खोप तयार भएका मुलुकबाट खरिदको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
त्यसका लागि अर्थ, परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिव सदस्य रहेको समिति गठन गर्ने निर्णय बैठकले गरेको छ। एक मन्त्रीका अनुसार खोप खरिद जीटुजी अर्थात् सरकारले सिधै पनि गर्न सक्नेछ ।
कोरोना भाइरसविरुद्ध तयार गरिएको पहिलो खोपले ९० प्रतिशत मानिसमा संक्रमण रोक्न सक्ने समाचार सार्वजनिक भएकै दिन सरकारले यस्तो निणस्य गरेको छ।
संसारकै ठूलो औषधि कम्पनी फाइजर र बायोनटेकले निर्माण गरेको यो औषधिले ९० प्रतिशत संक्रमण रोक्न सक्ने दाबी गरिएको छ। खोप निर्माणकर्ता ‘फाइजर र बायोएनटेक’ ले यो विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको घोषणा गरेका छन्। कम्पनीले यो महिनाको अन्तिमसम्ममा खोप प्रयोगको अनुमति प्राप्त गर्न आवेदन दिने तयारी गरेका छन्।
यो खोप अहिलेसम्म ६ देशका ४३ हजार ५०० व्यक्तिमा परीक्षण गरिसकिएको छ। साथै सुरक्षाका विषयमा कुनै चिन्ता प्रकट भएको छैन। संसारभर थुप्रै खोपहरु अहिले अन्तिम चरणमा पुगेको भनिएको छ। जसलाई तेस्रो चरणको क्लिनिकल ट्रायल भनिएको छ।
FACEBOOK COMMENTS