काठमाडौं, फागुन ४ –सरकारले सरकार १६ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले सचिवको सरुवाको निर्णय गरेको हो।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सरुवाको निर्णयमा सोमबार हस्ताक्षर भएर केही सचिवले चिठ्ठी पनि बुझिसकेका छन्। मन्त्रालयका अनुसार उद्योग मन्त्रालयको सचिवमा अर्जुन पोखरेल आएका छन्। उनी लोक सेवा आयोगका सचिव थिए। सहसचिवमा रहँदा पोखरेलले अर्थमन्त्रालय अन्तर्गत रहेर समेत काम गरिसकेका छन्।
आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाइँलाई ल्याइएको छ। वाणिज्य सचिव बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगिएको छ। वाणिज्य सचिवमा प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई ल्याइएको छ। उनी सहसचिव हुँदा उद्योग मन्त्रालयमा कार्यरत थिए। सचिव सुमन अर्याललाई प्रदेश १ का प्रमुख सचिवमा सरुवा गरिएको छ। अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका (अतिरिक्त) सचिव थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा तोयम राया सरुवा भएका छन्। उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा थिए। अख्तियारका सचिव सुरेशकुमार अधिकारीको निर्वाचन आयोग सरुवा भएको छ। उपराष्ट्रपति कार्यालयका सचिव केदार न्यौपाने युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन्। उपराष्ट्रपति कार्यालयमा निर्वाचन आयोगबाट देवकुमारी गुरागाइँ सरुवा भएकी छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्य नेपाल ट्रस्टको कार्यालयमा सरुवा भएको छ।
प्राधिकरणमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव मणिराम गेलाल आएका छन्। नेपाल ट्रस्टका सचिव देवेन्द्र कार्कीको सतर्कता केन्द्रमा सरुवा भएका छन्। सरकारले शिक्षा मन्त्रालयमा युवा तथा खेलकुदका सचिव रामप्रसाद थपलियालाई ल्याएको छ भने शिक्षा सचिव गोपीनाथ मैनाली वित्त आयोगमा सरुवा भएका छन्।
आयोगका बेगेन्द्रराज शर्मा पौडेल भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ। भूमि मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरकारले सरुवा गरिएको छ। सार्वजनिक खरिद कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ।
FACEBOOK COMMENTS