(उमेशलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन । कोभिड १९ का कारण विश्वभर आर्थिक गतिविधीमा मन्दी छाएको छ । जसबाट नेपाल समेत प्रभावित बन्दो छ । महामारीले गर्दा समग्र क्षेत्रमा नकारात्मक असर परिरहेको देखिन्छ । यसै सन्दर्भमा देशको आर्थिक अवस्था लगायतका समसामायिक बिषयमा केन्द्रित रहि कर्पोरेट खबरका अध्यक्ष उज्जवल जंग शाहले महासंघका उपाध्यक्ष श्रेष्ठसँग गरेको कुराकानीको संपादित अंश प्रस्तुत गरेका छौ ।)
विश्वभरी कै अर्थतन्त्र तहसनहस पारेको कोरोना भाइरस (कोभिड- १९)को महामारीले नेपालको अर्थतन्त्रमा कस्तो असर देखाउँला ?
कोरोना भाइरस (कोभिड- १९)को महामारीका कारण अहिले विश्वकै अर्थतन्त्र तहसनहस भएको अवस्था छ । विश्वका अति विकशित मुलुकहरु अमेरिका, इटली, स्पेन, चीनको अर्थतन्त्र त यो महामारीका कारण डगमगाएको छ भने नेपाल जस्तो विकाशोन्मुख मुलुकको अर्थतन्त्रमा त झनै ठूलो प्रभावपर्ने देखिन्छ । यो महामारीले गर्दा देश लकडाउनको अवस्थामा छ । देशमा रहेका उद्योगधन्दा, कलकारखाना र बजार सबै बन्द रहेका छन् । यसले गर्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन् । यसका कारण हाम्रो आर्थिक बृद्धिदरमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । विगत तीन बर्षदेखि ७ प्रतिशतले बृद्धि भएको नेपालको अर्थतन्त्र माइन्स ५-६ प्रतिशतले घट्ने देखिन्छ । यो भनेको समग्र अर्थतन्त्रको करिब १३ प्रतिशतले घट्ने मेरो अनुमान रहेको छ । १३ प्रतिशत आर्थिक वृद्धिदर घट्नु भनेको करिब ५ देखि ६ खर्बको कमी हो । हाम्रो जस्तो मुलुकका लागि यो ठूलो नोक्सानी हो ।
यो महामारीका कारण सबै भन्दा बढी कुन क्षेत्र प्रभावित हुन्छ ?
यो माहामारीका कारण सबै क्षेत्र नै प्रभावित हुने देखिन्छ तर सबै भन्दा बढी पर्यटन क्षेत्र प्रभावित हुने देखिन्छ । नेपालको पर्यटन क्षेत्रको विकाशका लागि नेपाल सरकारले घोषणा गरेको ‘भ्रमण बर्ष २०२०’ त यो महामारीका कारण स्थगित नै गर्नु पर्यो भने यसले अझ लामो समय पर्यटन क्षेत्रलाई प्रभावित पार्ने निश्चय र्नै छ । विश्वकै अर्थतन्त्र कोरोना भाइरसको कारणले नकारात्मक विन्दुमा पुगेको यो अवस्थामा लाखौं मानिसको रोजगारी गुम्ने पक्का जस्तै छ । यस्तो आर्थिक मन्दीको समयमा मानिस घर छाडेर घुम्न निस्कने त प्रश्न नै आउँदैन् । विदेशि पर्यटक नै नआए यहाँका हवाई कम्पनी, होटल व्यवसायका साथै पर्यटक कम्पनीहरु पनि ठूलो मारमा पर्ने देखिन्छ । ठूलो लगानी रहेका यी क्षेत्रलाई कोरोनाका कारण सबैभन्दा बढी प्रभाव पर्ने निश्चय छ ।
यहाँ काम गरिरहेका जनशक्तिको रोजगारी नै गुम्ने खतरा समेत देखिएको छ । अब ती क्षेत्रमा कार्यरत जनशक्तिलाई के गर्ने ?
पर्यटक क्षेत्र उकास्न के गर्ने भन्ने प्रश्न नै अहिलेको मुल प्रश्न हो ? यसका लागि सरकाले आन्तिरक पर्यटकलाई प्रोत्साहन गर्नु पर्दछ । सरकारले यसका लागि एक महिने पर्यटन विदा दिने तयारी गरिरहेको पनि सुन्नमा आएको छ । यो एकदमै राम्रो प्रयास हो । साथै सरकारले उचित प्रचारप्रसारको अभावका कारण ओझेलमा परेका पर्यटकिय गन्तब्यको पहिचान गरी त्यसको उचित प्रचारप्रसार गर्नु पनि जरुरी छ । यसले गर्दा आन्तरिक पर्यटक बढ्छन् र पर्यटन व्यवसायीलाई केहि मात्रामा भएपनि राहत मिल्ने देखिन्छ ।
यो महामारीको समयलाई हामीले कसरी अवसरको रुपमा प्रयोग गर्न सक्छौं ?
यो महामारीको समय हाम्रो जस्तो आयातमा निर्भर देशका लागि आत्मनिर्भर हुने अवसर पनि हो । यो समयमा हामीले हाम्रो अर्थतन्त्रलाई कसरी आत्मनिर्भर र मजबुत बनाउँन सक्छौं भनी गृहकार्य गर्न सक्छौं । हामी कहाँ यस्तो अवसर २०७२ सालको भुकम्प जादाँ होस् वा नाकाबन्दी हुदाँ आएका हुन् । तर विडम्बना केहि समयका लागि यस्ता कुरा आएता पनि व्यवहारमा भने लागु हुन सकेको अवस्था छैन् । देशलाई परनिर्भरता बाट मुक्त बनाउँनु पर्छ , यो सबैले मानेको कुरा हो तर त्यस तर्फ अघि बढ्न सरकारी स्तरबाट कुनै पहल भने भएको मैले पाएको छैन् ।
हामीले तत्काल देशका लागि आवश्यक हुने सबै बस्तु उत्पादन गर्न सक्दैनौं, तर हामी कहाँ उत्पादन भएका कृषि उपज हुन या अन्य बस्तुको उचित व्यवस्थापन तथा वितरण गर्न सक्छौं । नेपालमा उत्पादन भएका मौलिक बस्तुलाई कसरी निर्यात गर्ने र कम भन्दा कम आयात गर्न अब हामी लाग्नु गर्दछ । यो काम नेपाल मात्र होइन हामी जस्तै विकाशोन्मुख सबै मुलुकले आफ्नो अर्थतन्त्र जोगाउन गर्नु आवश्यक छ । बस्तु आयात र निर्यातको सन्तुलन कसरी मिलाउने भन्ने बारेमा सरकारले उचित कार्ययोजना सहित अगाडी बढ्नु आश्यक छ । हाम्रो देशमा जलविद्युत, हस्तकलाका सामग्री, पस्मिना लगायतका नेपाली उत्पादन निर्यात गर्न सकेमा पनि व्यापार घाटा केहि मात्रामा भएपनि कमी आउँने थियो । त्यसै गरी नेपालमै उत्पादन गर्न सकिने वस्तुहरुको प्लान्ट जडान गरी नेपालमै उत्पादन गर्न सक्यो भने मात्र पनि ठूलो धनराशी विदेशीनबाट जोगिने थियो । हामीले किन भारतिय विकाजीको ब्रान्डको दालमोठ खानु पर्यो ? आफ्नौ देशमा उत्पादन भएको नेपाली ब्रान्डको अन्य दालमोठ खान सक्दैंनौं ? त्यसै गरी पेट्रोल डिजेलको खपत कम गर्न विद्युतिय सवारी साधनको प्रयोग गर्न सक्यौं भने हामी विस्तारै आत्मनिर्भरताको बाटोमा हिड्नेछौं ।
देशको अर्थतन्त्र मजबुत बनाउँन अब के गर्नुपर्छ ?
हामी बजेट बनाउँदा जहिले पनि राजस्वमुखी बजेट बनाउँने गर्दै आएका छौं, अब यसलाई परिवर्तन गर्न आवश्यक छ । राजस्व बढी आउने बस्तुको आयातको लागि प्रोत्साहन गर्नु राम्रो होइन् । राजस्व त उद्योगधन्दाबाट पनि सरकारले उठाउँन सक्छ । उद्योगधन्दाको तुलनामा व्यापारबाट राजस्व छिटो उठ्छ तर त्यसो भन्दैमा सधै आयातमुखी व्यापारलाई हामीले प्राथमिकता दिनु त भएन् नी । देशमा उद्योगधन्दाको विकाशमा ध्यान नै नदिई आयातमुखी व्यापार गर्नु पनि देशको अर्थतन्त्रका लागि घातक हो । व्यापार र उद्योग एक अर्काका परिपूरक हुन् । उद्योगले बस्तु उत्पादन नगरे व्यापारीले के बेच्ने ? व्यापारीले उत्पादित बस्तु विक्रि नगरे उद्योग कसरी चलाउने ? त्यसैले यी दुई एक अर्काका पूरक हुन् भने देशविकाशका साझेदार पनि हुन् । त्यसैले देशको आन्तरिक व्यापार र उत्पादनलाई बृद्धि गर्न सकेमा देशको अर्थतन्त्रमा सुधारका संकेत पक्कै पनि देखिनेछ ।
हाम्रो देश रेमिट्यान्सबाट चलेको देश हो । देशका करिब ४० लाख युवा जनशक्ति विदेशमा पसिना बगाएर स्वदेशमा रकम पठाउँने गर्दछन् । तर यो महामारीका कारण धेरैको बैदेशिक रोजगारी गुम्ने पक्का छ । यसको प्रत्यक्ष असर रेमिट्यान्समा देखिने छ । रेमिट्यान्स आउँन नै बन्द भयो भने हामी कुन पैसाले विदेशबाट सामान आयात गरी हाम्रो आवश्यकता पूरा गर्ने त ? त्यसैले सरकारले अत्यावश्यक बस्तुको आयात बाहेक अन्यका् आयातमा रोक लगाउनु पर्छ । आयात र निर्यातको ठूलो खाडल तत्काल पूर्न त संभव छैन् तर यसले केहि मात्रामा भएपनि कमी भने ल्याउनेछ ।
त्यसो हो भने हामीले अब कुन क्षेत्रमा लागेर अर्थतन्त्र मजबुत बनाउने काम गर्न सक्छौं साथै आत्मनिर्भर बन्न पनि सक्छौं ?
हामी कृषि प्रधान देशका नागरिक हौं भन्छौं तर हामीलाई लाज लाग्नु पर्ने हो । हामी प्रत्यक बर्ष करिब ३ खर्ब बराबरको कृषिजन्य सामग्रीको आयात गरिरहेका छौं । हामीले चामल मात्र २० अर्बको, मासुजन्य पदार्थ १५ अर्ब बराबरको आयात गछौं । हामी हाम्रो खेतबारी बाझो राखेर, हाम्रा पौरखी युवाहरु खाडीमा निर्यात गरेर देशमै उत्पादन हुन सक्ने खबौंको कृषि सामग्री आयात गरिरहेका छौं । अब यसलाई परिवर्तन गर्न जरुरी छ । कोरोनाका कारण समग्र अर्थतन्त्र डगमगाएको अवस्थामा कृषि क्षेत्रमात्र त्यस्तो क्षेत्र हो जस्ले तत्काल प्रतिफल दिन सक्दछ भने सरकारी अनुदानको हिसाबले पनि यो क्षेत्र प्राथमिकतामा परेको छ । हालै मात्र सरकारले प्रत्यक प्रदेशमा ठूला ठूला कृषि फर्मको सञ्चालन गरीने जनाएको छ । यो योजना सफलतापूर्वक लागु होस् भन्ने म चाहन्छु । र म आफै पनि कृषिमा केहि गर्ने बारे सोच बनाएको छु । तर यसका लागि सरकारले कृषकले उब्जाएका कृषि उपजकोलागि बजारको उचित व्यवस्थापन गरिदिन आवश्यक छ । विदेशी कृषि उपजलाई रोक लगाई स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नु पर्दछ । साथै युवालाई कृषि पेशाप्रति आकर्षण जगाई विदेशिनबाट रोक्न पनि आवश्यक छ । उनीहरुलाई स्वदेशमै रोजगारी सृजना गरी देश विकाशमा लगाउनु नै अहिलेको आवश्यकता हो भने यसो गर्न सकेमा देश पनि आत्मनिर्भरताको बाटोमा अगाडी बढ्न सक्छ ।
अन्य मुलुकसँगको व्यापारघाटा कम गरी निर्यातमूलक व्यापार गर्न के कुरामा ध्यान दिनु जरुरी छ ?
अब हामीले निर्यातमुलक व्यापारमा जोड दिनु पर्दछ । अब हामीले निर्यातजन्य बस्तुको उत्पादन तथा निर्यातलाई प्रोत्साहन दिनु पर्दछ । नेपाली थाङका, पस्मिना, हस्तकलाका सामग्री, चीया कफि, छुर्पि लगायतका हाम्रा मौलिक उत्पादनलाई अनुदान दिएर भएपनि निर्यातका लागि सहयोग गर्नुपर्ने देखिन्छ । यसले नेपाली बस्तुलाई विदेशमा चिनाउनुका साथै निर्यातमुखी अर्थतन्त्रको पनि बिकाशका लागि पनि सहयोग गर्दछ । यसका लागि सरकारी तवरबाट उचित योजना सहित कार्यक्रम ल्याउनु पर्दछ । साथै सरकारको निर्णायक पदमा रहेका व्यक्तिले व्यक्तिगत लाभ नहेरी समग्र मुलुकको लाभका लागि काम गर्नु जरुरी छ ।
देशमा व्याप्त भ्रष्टचार छ । देशको कुल बजेटको १९ प्रतिशतमात्र विकाश बजेट छ । पञ्चायतकालमा पनि नेपालको विकाश बजेट यति नै हुनु र अहिले गणतन्त्रमा पनि उति नै हुनु दुखद पक्ष हो । अब हामीले कहाँ नेर हाम्रो कमजोरी भयो भनी आत्मालोचना गर्ने समय आएको छ । त्यसै गरी हाम्रो सरकारी खरिद प्रक्रिया पनि झन्झटिलो रहेको छ । खरिद ऐनमा धेरै नियमहरु पूरा गरेर मात्रै सरकारी तवरबाट खरिद गर्न सक्छौं । तर के यति धेरै निती नियमले भ्रष्टचार कम भएको छ त ? पक्कै पनि भएको छैन् । यहाँको कर्मचारीतन्त्र नै मुख्य समस्याको रुपमा रहेको छ । जबसम्म हामीले कर्मचारीतन्त्रमा परिवर्तन ल्याउँन सक्दैनौ तब सम्म देशमा भ्रष्टचार कमी हुने छैन् । यसका लागि सरकार तथा निजी क्षेत्र सबैले एक उद्देश्यका साथ काम गर्न सक्यौं भने मात्र देशको आर्थिक अवस्थामा सुधान ल्याउँन सक्छौं ।
कोरोनाका कारणले बिग्रीएको व्यवसायलाई केहि मात्रामा भएपनि सुधार गर्न के गर्नु पर्ला ?
कोरोनाको महामारीका कारण साना व्यवसाय होस् वा ठूलो व्यवसाय सबै मारमा परेका छन् । व्यवसायको आकार अनुसार व्यापारमा पनि असर गरेको छ । महामारी रोबथामका लागि गरिएको लकडाउनले व्यपार व्यवसाय एक महिनादेखि ठप्प रहेको छ । यसको ज्यादामार साना व्यवसायलाई परेको छ तर त्यो भन्दैमा ठूला व्यसायलाई मार परेको छैन् भन्ने चाही होइन् । बजार ठप्प हुदाँ व्यापार छैन् भने व्यापार नहुदाँ पैसाको अभाव देखिएको छ । सरकारले लकडाउनका कारण मारमा परेका साना तथा ठूला व्यवसायीहरुलाई कर छुट, घरभाडा, विजुली लगायतका कुरामा सहुलिएतको व्यवस्था गरिदिनु पर्दछ । जस्ले गर्दा व्यवसायीहरुलाई राहत मिल्ने छ ।
यो महामारीको अवस्थामा बैंकहरुको भूमिका कस्तो हुनु पर्दछ ?
बैंक तथा वित्तिय संस्था र व्यवसाय एक अर्काका पूरक हुन् । धेरै व्यवसायीहरुले बैंकबाट लोन लिएर व्यापार गरिरहेका छन् । म आफैले पनि बैंकबाट पैसा लिएको छु । अब व्यापार व्यसाय ठप्प भएपछि बैंकको व्याज र किस्ता हामीले कसरी तिर्ने ? यसका बारेमा पनि सोच्नु पर्ने बेला आएको छ । बैंकमा जम्मा भएका करिक ३५ खर्ब बरबबरको निक्षेप छ त्यसको झण्डैं ५० प्रतिशत रकम नाफा कमाउँने उद्देश्यका साथ संघसंस्थाहरुले राखेका छन् । यदि बैंकहरुले स्प्रोर्डदर कम गर्ने हो उनीहरुलाई दिनु पर्ने व्याज स्वत घट्छ भने व्यापारीले तिर्न पर्ने व्याजमा कमी आउँदछ जस्ले गर्दा लकडाउनका कारण मर्कामा परेका व्यापारीलाई केहि मात्रामा भएपनि राहत हुने थियो ।
यो महामारीको समयमा बैंकहरु नाफामुखी भन्दा पनि सेवामुखी हुन सक्नु पर्दछ । अघिल्लो बर्ष ३० अर्ब नाफा कमाएका बैंकहरुले यो बर्ष २० अर्ब नाफा कमाउँदा के फरक पर्छ ? सबैक्षेत्रको नाफा घटिरहेको अवस्थामा बैंकको नाफा केहि घट्दैंमा केहि फरक पर्छ जस्तो मलाई लाग्दैन् । एक बर्ष बैंकहरुले आफ्ना लगानीकर्तालाई कम नाफा दिदाँ के फरक पर्छ ? यो भन्दैंमा म बैंकहरुप्रति पूर्वाग्रही भएको भने पक्कै होइन् । तर व्यवसायिहरु मारमा परेका बेला बैंकले पनि केहि सोच्नु पर्ने बेला आएको छ । मैले बैंकर्स संघको बैंठकले लोनको व्याज केहि कम गर्ने सुनेको छु , यो एकदमै राम्रो कदम हो । म त्यस कदमको स्वागत गर्दछु । बैंकहरुले व्यावसायीको मर्का बुझेर मात्र दुई बर्षको लागि स्प्रोर्डदर कम गर्ने हो भने पनि थला परेको व्यवसाय उठ्न मदत मिल्ने थियो ।
FACEBOOK COMMENTS