काठमाडौं– कपडा उद्योगीहरूले मुलुकभरका करिब २५० कपडा उद्योग बन्द गर्ने घोषणा गरेका छन्।
सरकारले वैकल्पिक व्यवस्था नगरी भ्याट फिर्ता तथा समायोजनको प्रबन्ध हटाएको विरोधमा उद्योगीहरूले मुलुकभर सञ्चालित करिब २५० कपडा उद्योग मंसिर १ गतेदेखि ७ गतेसम्म बन्द गर्ने घोषणा गरेका हुन्।
राजधानीमा शनिबार पत्रकार सम्मेलन गरी उद्योगीहरुले सरकारको पछिल्लो नीति तथा कार्यक्रमले कपडा उद्योगमा समस्या निम्तिएकाले आफूहरू उद्योग बन्द गर्न बाध्य भएको बताए।
नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्र प्रधानले कपडा उद्योगीको समस्या समाधानका लागि सरकारसमक्ष पटकपटक हारगुहार गरे पनि समाधान नभएपछि मुलुकभरका कपडा उद्योग बन्द गर्न बाध्य भएको बताए।
सरकारले आर्थिक वर्ष ०७५÷७६ को बजेट र आर्थिक ऐनमार्फत भ्याट फिर्ता तथा समायोजनको प्रावधान एकमुष्ट रूपमा हटाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्बर तीनका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले कपडा उद्योगलाई धराशयी आर्थिक समृद्धिको नारा लगाएको भन्दै आक्रोश प्रकट गरे । ‘मुलुकभरका कपडा उद्योग बन्द भइरँहदा कसरी सरकारले हेटौंडाको कपडा उद्योग सञ्चालन गर्न सक्छ रु हामी पनि हेर्छौं,’ उनले भने, ‘निजी कपडा उद्योगी बैंकको ऋण तिर्न नसकेर छटपटाइरहेका छन्।’
सरकारको गलत नीतिका कारण विगतमा उद्योग क्षेत्रबाट जिडिपीमा प्रदान हुने १३ प्रतिशत हिस्सा अहिले घटेर चार प्रतिशतमा खुम्चिएको उद्योगीहरू बताउँछन्।
संघका अनुसार मुलुकमा वार्षिक एक अर्ब पाँच करोड मिटर पहिरनका कपडा खपत हुने गरेको छ। त्यसमा स्वदेशी उद्योगबाट मात्रै ६ करोड २५ लाख मिटर उत्पादन हुन्छ। बाँकी कपडा भन्सार बिन्दुबाट न्यून बिजकीकरण तथा चोरी पैठारीबाट आउने गरेको संघले जानकारी गराएको छ।
मुलुकभर हाल सञ्चालनमा आएका करिब २५० कपडा उद्योगमा उद्योगीको दसौं अर्ब लगानी भइसकेको छ भने यसमा करिब ५० हजारले प्रत्यक्ष रोजगार पाएका छन् । यसमा अप्रत्यक्ष रुपमा दुई लाख ५० हजार नेपाली अश्रित छन्।
संघका अनुसार स्वदेशमै कपडा उत्पादन वृद्धि हुँदा आयात प्रतिस्थापन भई विदेशी मुद्रा बचत हुने, रोजगारी सिर्जना हुने र समृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक हुनेछ। अवैध कपडा आयात रोक्न सके सरकारको गुम्दै गरेको अर्बैं राजस्व संकलन हुनेछ।
स्वदेशी उद्योग फस्टाएमा ‘ब्याकवार्ड’ र ‘फरवार्ड लिकेज’ अर्थात् प्रत्यक्ष रोजगारी, धागो, प्याकेजिङ र गार्मेन्ट्स उद्योगको विकास र विस्तारको सम्भावना रहने उद्योगी बताउछन्।
FACEBOOK COMMENTS