काठमाडौं, पुस २० – सर्भरमा समस्या आएको भन्दै यातायात व्यवस्था विभागले सोमबारका लागि लाइसेन्सको अनलाइन फाराम बन्द गरेको छ। सर्भर मर्मत गर्नुपर्ने भएपछि सोमबार एक दिनका लागि अनलाइनबाट दिन सकिने आवेदन बन्द गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ।
कोरोना महामारीका कारण नौ महीनादेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको परीक्षाको अनलाइन फाराम १४ पुसदेखि शुरू भएको थियो। अनलाइन फाराम शुरू भएको एक साता नबित्दै सर्भरमा समस्या देखिएको छ।
सर्भरको मर्मतका लागि सोमबार एक दिन मात्रै सेवा बन्द गर्नुपरेको विभागले सूचना जारी गरेर जानकारी दिएको छ। विभागले लामो समयपछि फारम खुलेको र प्रयोगकर्ताको चाप बढेका कारण समस्या आएको बताएको छ। सर्भरको मर्मत गरेर छिट्टै अनलाइन फाराम शुरू गर्ने पनि विभागले जानकारी दिएको छ।
FACEBOOK COMMENTS