काठमाडौं– अटो विलासिताताको नभइ अत्यावश्यकीय साधन रहेको सरोकारवालाहरूले बताएका छन्। नाडा अटो शोको संघारमा आयोजित एक अन्तक्रिया कार्यक्रममा उनीहरूले देश विकास र व्यक्तिको प्रगतिका लागि सवारी साधन जरुरी भइसकेकाले यसलाई अत्यावश्यकीय साधनका रूपमा लिन सरकारको ध्यान आकर्षण गराएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघ र कर्पोरेट बजिनेस म्यागजिनको आयोजनमा ‘नेपालमा अटो व्यवसायका चुनौती र समाधान’ शिर्षकमा आयोजित कार्यक्रमका अधिकांस वक्ताले यस्तो धारणा व्यक्त गरेका हुन्। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष उमेशलाल श्रेष्ठले ४० वर्षअघि सवारी साधनलाई विलासिताका रूपमा लिइएपनि अहिले अनिवार्य आवश्यकता भइसकेको बताए। उनले भने, ‘अटो क्षेत्रलाई सरकारले हेर्ने नजरिया परिवर्तन गर्नुपर्छ । देशको समृद्धिका लागि यसलाई प्रवद्र्धन गर्नुपर्छ ।’ राजश्व धेरै उठ्ने क्षेत्रका रूपमा मात्रै लिइदिँदा अटो क्षेत्रमा समस्या आइरहेकोतर्फ उनले औंल्याए ।
कृषि, ऊर्जा, उद्योग, व्यवसाय र पूर्वाधारका विकासमा अटो मोबाइल जरुरी भइसकेकाले यसलाई विलासिताका रूपमा लिन नहुने तर्क नाडा अटो मोबाइल एशोसिएसनका उपाध्यक्ष कृष्णप्रसाद दुलालको छ । आफूले भनेअनुसार नभए पनि सरकारकै औद्योगिक ऐन अनुसार यो क्षेत्रलाई सम्बोधन हुनुपर्ने उनले बताए ।
उपाध्यक्ष दुलाले भने, ‘औद्योगिक ऐन अनुसार भन्सार छुट दिने र राष्ट्र बैंक मार्फत् ब्याज घटाउनेतिर सरकारले सोच्न जरुरी छ ।’
अहिले गाउँका लागि मात्रै सवारी साधन विलासी हुनसक्ने तर सहरका हरेकका लागि अत्यावश्यक भइसकेको एशोसिएसनका निर्वतमान अध्यक्ष अञ्जन श्रेष्ठको राय छ । उनले अटो मोबाइल क्षेत्रलाई अनुत्पादक क्षेत्रका रूपमा समाज र सरकारले हेर्ने दृष्टिकोण बदल्न जरुरी रहेको समेत बताए । उनले प्रश्न गरे, ‘सवैकुरालाई चलायमान बनाउने र कार्यदक्षता बढाउने साधन कसरी अनुत्पादक हुन सक्छ ?’ यो क्षेत्रलाई राजश्व धेरै आउने क्षेत्रका रूपमा लिएर सरकारले सवारीलाई जनताको पहुँच बाहिर पु¥याएको उनको धारणा थियो ।
समृद्धि र अटो मोबाइल क्षेत्रको नजिकको नाता रहेको उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले औंल्याए । सरकारले परिकल्पना गरिरहेको समृद्ध नेपाल अटो क्षेत्रको विकास विना सम्भव नरहेको बताउँदै उनले भने, ‘जुन ठाउँ सवारी साधनको सहज पहुँच छ । त्यसैलाई समृद्ध भनिन्छ ।’ त्यसैले सरकारले अटो क्षेत्रलाई कस्ने भन्दा यसका लागि भौतिक पूर्वाधारको विकास गर्नमा जोड दिनुपर्ने उनले बताए । यो क्षेत्रलाई व्यवस्थित गर्न सरकारले उपयुक्त नीति लिन नसकेको भन्दै त्यतातिर ध्यान दिन उनले आग्रह गरे ।
अटो मोबाइल क्षेत्रका ९९ प्रतिशत व्यवासयीले पारदर्शी रूपमा काम गरिरहेको एशोसिएसनका सचिव सुनिल रिजालले बताए । आफूहरू सरकारको समृद्धिको नारालाई यथार्थमा परिणत गर्न सहयात्री हुने भन्दै उनले भने, ‘सरकारले नयाँ केही योजना ल्याउनुभन्दा पनि पहिल्यै भनेका कुरा पूरा गनुप¥यो ।’
व्यवसायी सुरेन्द्र कुमार उप्रेतिले गोरखकाली टायर उत्पादन सुरु गर्न जरुरी रहेको बताए । यसका लागि भौतिक पूर्वाधार र बजार दुवै रहेको बताउँदै नयाँ व्यवस्थापनलाई दिनुपर्ने धारणा राखे । उनले भने, ‘यदि हामीलाई चलाउन दिइयो भने ५ सय जनालाई रोजगारी पनि दिन्छौं । खेर गइरहेको भौतिक पूर्वाधार र उपकरण प्रयोगमा पनि ल्याउँछौं ।’
काठमाडौंमा सवारी साधनको भीड हेरेर ‘धेरै भयो, आयात रोक्नुपर्छ’ भनिने गरिएको बताउँदै व्यवासयी अनुप बरालले भने, ‘सम्पूर्णमा हेर्नुपर्छ । अझै धेरैको पहुँचमा सवारी साधन छैन ।’
अटो क्षेत्रले स्वरोजगारका लागि सहयोग गरिरहेको बताउँदै त्यसलाई नजरअन्दाज नगर्न व्यवसायी पंकज अग्रवाल सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘अहिले धेरैले अटो चलाएर रोजगारी पाइरहेका छन् । आफूले करोडौंका गाडी चढिएको छ भनेर यो क्षेत्रलाई विलासिताका रूपमा लिन पाइदैन ।’
२१ औं शताब्दिमा सवारी साधन विना कुनैपनि कुराको परिकल्पना गर्न नसकिने व्यवसायी सुमित केडियाको धारणा थियो । उनले सही नीति निर्माणका लागि सवैतिरबाट पहल हुनुपर्नेमा जोड दिए ।
एशोसिएनका उपाध्यक्ष प्रकाश कपुरीको धारणा पनि सरकार र व्यवसायीबीच रहँदै आएको मनमुटावको अन्त्य गर्नुपर्ने भन्ने थियो । उनले भने, ‘अब हामीले दोहोरी खेल्न छाड्नुपर्छ । सरकारले स्पष्ट नीति लिएर अघि बढ्न्पर्छ ।
कार्यक्रमको सहजीकरण गरेका कर्पोरेट बिजनेस म्यागजिनका सम्पादक उज्वलजंग शाहले यो क्षेत्रका विषयमा स्पष्ट धारणा बनाउने सही समय रहेको बताए । यो क्षेत्र र सरकारबिच रहेका बुझाइका फरकपन सम्बादबाट हल गर्नुपर्ने भन्दै कार्यक्रमको विषय प्रवेश गराएका थिए ।
FACEBOOK COMMENTS