वीरगन्ज – पर्साको बहुदरमाइ नगरपालिका २ का अधिकांश सडक कच्ची छन्। ग्राबेलसमेत नभएकाले सामान्य झरी पर्दा त्यहाँका सडक हिलाम्ये भएर मोटरसाइकलसमेत गुडाउन समस्या हुन्छ।
सोही ठाउँ प्रवेश गर्ने एउटै ठाउँमा सरकारी बजेटको दुरुपयोग गरेर ५० लाख भन्दा बढीको खर्चमा दुई वटा पक्की स्वागतद्वार निर्माण भइरहेका छन्। घर अगाडिको हिलाम्ये बाटो देखाउँदै स्थानीय कैलाश यादवले भने, ‘गाँउको बाटोको बिजोग हेर्नुस्, पानी परेपछि हिलोले मोटरसाइकलसमेत छिर्न सकेको छैन, तर यही गाँउमा ५० लाखको गेट बनाउन सांसद र मेयरको हानथाप भइरहेको छ।’
गेट बनेको देख्दा कोही पनि स्थानीय खुखी नभएकाले गाउँलेलाई फाइदा नहुने उनको ठहर छ। यादव भन्छन्, ‘गेटमा फजुल खर्च गर्नु भन्दा बरु त्यो बजेटले बाटोमा ग्राबेल मात्रै खसाएको भए सारा गाँउलेले सांसद र मेयर साबको जयजयकार गर्थे।’ उनले भनेझैं वडा कार्यालय अगाडिको बाटो हिलाम्ये छ। स्थानीय बन्का रामले भने, ‘वर्षाका बेला कोही सिकिस्त भइ हाल्यो भने एम्बुलेन्ससमेत आउने अवस्था छैन, बिरामीलाई कि त झुलुवामा राखेर लानुपर्छ कि त उ घरमै छट्पटिएर मर्छ।’
बहुदरमाइ नगरपालिका २ बैरीयाविर्ता गाँउ प्रवेश गर्ने एकै स्थानमा १० मिटरको फरकमा नगरपालिका र सांसद कोषको बजेटमा २ वटा स्वागतद्वार निर्माण भइरहेका छन्। सो गाउँ प्रवेश गर्ने नाकामा बहुदरमाइ नगरपालिकाले २१ लाख ७० हजार रुपैयाँको लागतमा २० फिट उचाइको स्वागतद्वार बनाइरहेको छ। त्यही ठाउँमा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद विमल श्रीवास्तवको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट ७ लाख ८६ हजार रुपैयाँको लागतमा अर्को स्वागतद्वार निर्माण भइरहेको छ। दुवै स्वागतद्धारको शिल्यान्यास पनि एकै दिन गरिएको हो।
जेठ १७ गते वडाध्यक्ष जितेन्द्र पटेलले स्वागतद्वारको शिल्यान्यास गरेकै दिन सोही ठाउँका प्रतिनिधिसभा सांसद विमल श्रीवास्तवका मान्छेले छेउमै अर्को प्रवेशद्धारका लागि जग खनेका नगर प्रमुख नितेन्द्र साहले बताए। ‘वडाध्यक्षले शिल्यान्यास गरेर फर्किएको १÷२ घण्टामै १०÷१२ वटा मोटरसाइकलमा आएका सांसदका मान्छेले छेउमै अर्को गेट बनाउने भनेर खाल्डो खनेर काम सुरु गरेका हुन्, उनले भने, ‘सांसदले गेटमा नाम लेखाउन मात्रै हाम्रो कामको नक्कल गरेका हुन्।’ सांसद श्रीवास्तवका स्वकीय सचिव चन्दन मि श्रले भने आफुहरुले निर्माण गरिरहेको स्वागतद्वारको पिल्लर उठिसकेपछि मात्रै नगरपालिकाले आफ्नो स्वागतद्वार शिल्यान्यास गरेको दावी गरे।
एक अर्का विरुद्ध उजुरी
एकै स्थानमा दुई वटा स्वागतद्वार निर्माणको विषयलाई लिएर अहिले नगर प्रमुख साह र सांसद श्रीवास्तवबीच द्वन्द्व सुरु भएको छ। आफ्नो पालिकामा कुनै जानकारी र समन्वय नै नगरि सांसद श्रीवास्तवले स्वागतद्वार निर्माण गरिरहेकाले सो कार्य रोक्न माग गर्दै गत साता नगर प्रमुख साहले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। ‘एउटै ठाँउमा २ वटा गेट जरुरी छैन, ‘मेरो पालिकामा कुनै पनि सरकारी बजेटबाट काम हुन्छ भने त्यसको जानकारी नगरपालिकालाई दिनुपर्छ, उनले भने, ‘तर नगरपालिकालाई न कुनै खबर छ, न समन्वय नै गरिएको छ, त्यसैले सांसदले बनाउन लागेको गेटको काम रोक्न जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको हुँ।’
सांसद श्रीवास्तवले पनि नगर प्रमुख साहले अवरोध गरेको भन्दै कारबाहीको माग गर्दै प्रशासनमा उजुरी दिएका छन्। उनले आफना प्रतिनिधि पुरुषोत्तम झामार्फत उजुरी दिएका हुन्। ‘संसदीय बजेट खर्चका लागि मेयरलाइ खबर गर्नुपर्ने वा अनुमति लिनुपर्ने भनेर कुनै प्रावधान छैन, श्रीवास्तवका स्वकीय सचिव चन्दन मि श्राले भने, ‘तर मेयरले विकासको काममा पनि अवरोध गर्न खोजेका छन्, त्यसैले उनी विरुद्ध कारबाहीको माग गरी सहज वातावरण बनाउन माग गर्दै सिडिओमा उजुरी दिएका हौं।’
स्वागतद्वारका लागि करिब १ करोड बजेट
बहुदरमाइ नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा दुई वटा स्वागतद्वार निर्माणका लागि ४३ लाख ४० हजार ७ हजार ३४ रुपैयाँ बजेट विनियोजन गरेको छ। यो बजेटबाट वडा नम्बर २ बैरीया विर्ता र वडा नम्बर १ वि श्रामपुरमा स्वागतद्वार निर्माण भइरहेको छ।
गत वर्ष असारको ते श्रो नगरसभाबाट पारित नगरस्तरीय योजनबाट दुई स्थानमा स्वागतद्वार निर्माण भइरहेको नगर प्रमुख साहले बताए। सोही नगरपालिकालाई समेत समेट्ने निर्वाचन क्षेत्र नम्बर २ का सांसद श्रीवास्तवको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४७ लाख २१ हजार १ सय ६६ रुपैयाँको लागतमा पनि ५ ठाँउमा स्वागतद्वार निर्माण भइरहेको छ। ५ वटा मध्ये ३ वटा स्वागतद्धार बहुदरमाइ नगरपालिकामै र बाँकी वीरगन्ज महानगर र पर्सागढी नगरपालिकामा निर्माण भइरहेको हो।
तत्कालीन राजपाका महासचिव शिव पटेलले स्वागतद्वार निर्माणमा बजेटको दुरुपयोग मात्रै भएको बताउँछन्। स्वागतद्वार बनाएर जनताको जीवनशैलीमा कुनै रुपान्तरण नहुने उनको धारणा छ। बैरीयाविवर्ताकै स्थानीयसमेत रहेका पटेलले भने, ‘अहिले हाम्रो गाँउमा सडक, स्वस्थ्य र शिक्षाको अवस्था बिजोग छ। तर मेयर र सांसदको जुँगाको लडाइँले एकै ठाँउमा २ वटा गेट बनिरहेको छ, यो बजेटको दुरुपयोग नै हो।’ एकले स्वागतद्वार बनाएपनि अर्काले बजेट सडकमा लगाउनुपर्नेमा दुवैले उपलब्धीहिन काममा बजेटको दुरुपोग गरिरहेका उनको भनाइ छ।
-अन्नपुर्ण दैनिक
FACEBOOK COMMENTS