काठमाडौं, जेठ २० – साल्ट ट्रेडिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्याँस सस्तो मूल्यमा विक्री गर्ने भएको छ । सरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छूटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेलगत्तै साल्ट ट्रेडिङले खाद्यान्न र ग्यास सस्तोमा बेच्नेगरी मूल्यसूची नै सार्वजनिक गरेको हो ।
जस अनुसार बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनीको मूल्य ६३ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै खाना पकाउने ग्यासको मूल्य १ हजार १२० रुपैयाँ तोकिएको कर्पोरेशनले जनाएको छ । त्यस्तै पीठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६ रुपैयाँ र भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा विक्री गर्ने बताइएको छ ।
पाँच जनाको परिवारले एक महिनामा दुई किलो पीठो, दुई किलो चिनी, दुई किलो नून, एक लिटर भटमासको तेल र एक सिलिण्डर खाना पकाउने ग्यास मात्र किन्न पाइने छ । साल्ट ट्रेडिङबाट छूट मूल्यमा सामान किन्न व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र परिवारको सदस्यको नामसमेत पेश गर्नुपर्ने छ ।
काठमाडौं उपत्यकामा सर्वसाधारणले साल्ट ट्रेडिङको सतुंगल, कालीमाटी, कोटेश्वर र भक्तपुरबाट छूट मूल्यमा सामान पाउने छन् । त्यस्तै काठमाडौंबाहिर बनेपा र धनगढीबाट खाद्य सामग्री छूट मूल्यमा विक्री गर्ने साल्ट ट्रेडिङले जनाएको छ ।
FACEBOOK COMMENTS