काठमाडौं, वैशाख १९– सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत मंगलबार सार्वजनिक विवरणअनुसार बैंकको नाफामा कोभिड–१९ को असर देखिएको छ । कोरोनाको सन्त्रास र जारी लकडाउनका कारण पछिल्लो करीब डेढ महीनायता बैंक तथा वित्तीय संस्थाले कारोबार गर्न नपाउँदा त्रैमासको नाफामा संकुचन देखिएको हो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासकोे उक्त वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा बैंकको वितरण योग्य नाफामा संकुचन आएको छ । चालू आर्थिक वर्षमा बैंकले ४१ करोड ९ लाख ६५ हजार रूपैयाँ वितरणयोग्य नाफा कमाएको छ । तर गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा करीब ६२ करोड रूपैंयाँ हाराहारीमा रहेको बैंकले उल्लेख गरेको छ ।
यद्यपि बैंकको खुद नाफा भने २ प्रतिशतले मात्र बढेको छ । यो अवधिमा कम्पनीले १ अर्ब ९ करोड १२ लाख ४५ हजार रूपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो नाफा १ अर्ब ६ करोड ९६ लाख १ हजार रूपैयाँ थियो ।
यसैगरी यो वर्ष बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ८ करोड ७२ लाख ४४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २४ करोड ४८ लाख १३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
गत वर्ष यस अवधिमा १ अर्ब ४९ करोड १४ लाख ५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको बैंकले यो वर्ष १ अर्ब ५२ करोड ३१ लाख ४७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको जानकारी दिएको छ । हाल ८ अर्ब ६२ करोड २१ लाख ९६ हजार रूपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४९ करोड ३३ लाख ६७ हजार रूपैयाँ छ ।
विश्वव्यापी कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सरकारले ३८ दिनदेखि लकडाउन जारी राखेको छ । लकडाउनका कारण देशमा संक्रमितको संख्या भयावह नभए पनि आर्थिक अवस्था भने गम्भीर बन्दै गएको छ । लकडाउनले बैंक तथा वित्तीय संस्थाको कारोबार प्रभावित भएपछि उपलब्धिहरूमा समेत असर देखिन थालेको हो ।
FACEBOOK COMMENTS