काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्सलाई राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका छन् ।
असार २५ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ भने ऋण लगानी करिब १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ ।
प्राप्ती पश्चात बैंकको कुल शाखा १८९ हुनेछ भने ग्राहक सङ्ख्या करिव १२ लाख पुगेको छ । हाल सिटिजन्स बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् २७ वटा शाखाहरु संचालनमा आएका छन् । सहमति अनुसार, सिर्जना फाइनान्सका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनलको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ती पछिको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ ।
कार्यक्रममा सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्राप्तीबाट सिर्जना फाइनान्सका ग्राहकहरुले अझ बढी स्तरिय र परिस्कृत वित्तीय सेवाहरु प्राप्ती पछि बनेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८९ वटा शाखाहरुबाट प्राप्त गर्ने बताए ।
साबिकको सिर्जना फाइनान्स सञ्चालक समितिका अध्यक्ष सुयेश प्याकुरेलले सिर्जना फाइनान्स लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ बढी सुरक्षित र उज्वल हुने कुरा व्यक्त गरे ।
FACEBOOK COMMENTS