काठमाडौं, २९ मंसिर – सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले मेरो शेयर मोवाइल एपबाट सार्वजनिक निष्कासनका शेयरमा आवेदन दिने सुविधा थप गरेको छ । सिडिएससीले विकास गरेको मेरो शेयर मोवाइल एपमा माई आस्वा सम्बन्धी सेवा थप गरेको हो । भदौ ३१ गते लञ्च भएको उक्त एपमा माई आस्वा सेवा थप भएसँगै सार्वजनिक निष्कासनका शेयरमा आवेदन दिन सकिने भएको हो ।
सिडिएससीले यस अघि सञ्चालन गर्दै आएको मेरो शेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री एवम् सहज रुपमा प्रयोग गर्ने उदेश्य अनुरुप सोहि सफ्टवेयरको मोवाईल एप सञ्चालनमा ल्याईएको हो । मेरो शेयरको वेब भर्जनमा रहेका सम्पूर्ण सुविधाहरुमध्य यस अघि माई आस्बा भित्र रहेका सुविधा वाहेकका सबै सेवा उपलब्ध थियो । हाल सार्वजनिक निष्कासन भएका शेयर खरिदका लागि आवेदन दिन सकिने सुविधा थप गरी प्लेस्टोरमा अपडेड गरिसकिएको सिडिएससीले जानकारी दिएको छ ।
यसर्थ मेरो शेयरको मोवाइल एप प्रयोग गर्दा कुनै समस्या देखिएमा तत्काल सो समस्याको स्क्रिनसट समेत राखेर support@cdsc.com.np मा इमेल पठाई जानकारी गराउने समेत सिडिएससीले अनुरोध गरेको छ । हाल मेरो शेयर नाम राखि विभिन्न अनाधिकृत एपहरु प्लेस्टोर तथा इन्टरनेटका अन्य ठेगानाहरुमा अपलोड गरेको जानकारी आएकाले गुगल प्लेस्टोरमा सम्बन्धित पब्लिसरको नाम CDSC रहेको एकिन गरी एप डाउनलोड गर्न समेत सिडिएससीले भनेको छ ।
FACEBOOK COMMENTS