श्रावण ६ — लगातारको वर्षाले पाल्पामा जनजीवन प्रभावित बनेको छ । त्यस्तै विभिन्न ठाउँमा गएको पहिरोका कारण सिद्धार्थ राजमार्गसहित अन्य सडकमार्गहरुमा यातायात ठप्प भएको छ ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुललगायत दर्जनौं स्थानमा पहिरो खसेको छ । राजमार्ग सुचारु गर्न र खसेका पहिरो पन्छाउन दिनभर लाग्ने प्रहरी उपरीक्षक दीपक खरेलले बताए ।
तानसेनदेखि गुल्मीका साथै पाल्पाबाट स्याङ्जा, रामपुर हुँदै नवलपरासी जाने सडकमा पनि पहिरो खसेको छ । तानसेनबाट रानीमहल जाने सडकका साथै रम्भा, माथागढी, रैनादेवी छहरा, निस्दी, पूर्वखोला गाउँपालिका केन्द्र जाने सडकमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिहानैदेखि प्रहरीले सडक डिभिजनको समन्वयमा पहिरो खुलाउने प्रयास गरेको जनाएको छ ।
सिद्धार्थ राजमार्गको दोभान बजार नजिक कम्तीमा ६ घर जोखिममा परेको छ । दोभान प्रहरी चौकीका अनुसार सीता कुंवर, दोभान कृषि सहकारी र तिनाउ सब–डिभिजन कार्यालय, बुद्धबहादुर बस्नेत, राजबहादुर श्रेष्ठलगायतको घर जोखिममा परेको हो । सिद्धबाबा मन्दिरको तल्लो भागका रहेको धर्मशाला, मन्दिरको छेउमै ढुंगा थुपारेको पुजारी लक्ष्मीपति सापकोटाले जानकारी दिए । मानवीय क्षति भने भएको छैन ।
विभिन्न स्थानमा ठूला ढुंगा खसेका छन् । वर्षा रोकिनासाथ पहिरो पन्छाउन प्रयास गरिने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । सुरक्षाकर्मी, सडक डिभिजनको समन्वयमा राजमार्गमा सवारी साधन सुचारु गर्न काममा खटिइसकेको उनले बताए ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS