असार १५ – सुदूरपश्चिम प्रदेशमा कुल खेतीयोग्य जमिनमध्ये ४९ दशमलब ६४ प्रतिशतमा रोपाइँ भएको कृषि विकास निर्देशनालय दिपायलले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार छ सय चार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा प्रदेशमा ९० हजार एक सय ५६ हेक्टरमा रोपाइँ भइसकेको निर्देशनालयले जानकारी दिएको हो । प्रदेशमा सबैभन्दा बढी रोपाइँ अछाममा भएको छ भने कम डोटी मा भएको छ ।
अछाममा १६ हजार पाँच सय ८० हेक्टरमा धान रोपाइँ गरिदै आएकोमा नौ हजार नौ सय ४८ हेक्टरमा रोपाइँ भएको छ भने डोटीमा १० हजार आठ सय ९८ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा तीन हजार आठ सय १४ हेक्टरमा रोपाइँ भएको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए ।
धानबालीको अन्न भण्डार मानिएको कैलालीमा अहिलेसम्म ४७ दशमलब ४९ प्रतिशत र कञ्चनपुरमा ५२ दशमलब ९७ प्रतिशतमा धान रोपाइँ भएको छ । कैलालीमा ७१ हजार सात सय १५ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा ३४ हजार ५७ हेक्टरमा रोपाइँ भएको हो । यस्तै प्रदेशको तराईमा पर्ने अर्को जिल्ला कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टरमा धान खेती हुँदै आएकोमा २५ हजार छ सय २४ हेक्टरमा रोपाइँ भएको छ।
प्रदेशको डडेल्धुरा र दार्चुलामा पनि ५० प्रतिशतभन्दा कम रोपाइँ भएको छ । निर्देशनालयको दिएको तथ्यांक अनुसार डडेल्धुरामा छ हजार दुई सय २६ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा दुई हजार चार सय ९० हेक्टर र दार्चुलामा चार हजार चार सय ८० हेक्टरमा रोपाई हुँदै आएकोमा दुई हजार १६ हेक्टरमा रोपाइँ भएको छ।
प्रदेशको बाजुरामा ५५, बझाङमा ५० र बैतडीमा ५२ प्रतिशतमा रोपाइँ भइसकेको छ । बाजुरामा सात हजार दुई २० हेक्टरमा धान रोपाई हुँदै आएकोमा तीन हजार नौ सय ७१ हेक्टरमा रोपाइँ भएको छ । बझाङमा सात हजार एक सय १० हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा तीन हजार पाँच सय ५५ हेक्टरमा रोपाइँ भएको छ । बैतडीमा नौ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा चार हजार छ सय ८० हेक्टरमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
यसपाली मनसुन चाँडो भित्रिएका कारण रोपाइँ पनि चाडो सुरु भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ । धानखेतीलाई कुनै असर नपरेमा विगतका बर्षभन्दा यसपाली उत्पादन बढ्ने निर्देशक जोशीको भनाइ छ । अवश्य पनि यसपाली समयमै रोपाइँ सकिन्छ । यसले उत्पादन बढ्छ । तर, यसपछि के हुन्छ भन्न सकिदैन, उनले भने, अघिल्लो वर्षभन्दा पहिले नै धेरै रोपाइँ भइसकेको छ ।
FACEBOOK COMMENTS