असारको अन्तिम दिन ४८ करोड ९८ लाख ४९ हजार खर्च
काठमाण्डौ -सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७६/०७७ को कुल खर्चमध्ये आधाभन्दा बढी खर्च असारमै गरेको देखिएको छ । त्यसमध्ये पनि असारको अन्तिम दिन ४८ करोड ९८ लाख ४९ हजार खर्च गरेको छ ।
आव ०७६/०७७ मा ६२ प्रतिशत बजेट खर्च भएको छ । यसमा चालुतर्फ विनियोजित बजेट १५ अर्ब ९ करोड ४८ लाख ३६ हजारमध्ये ८ अर्ब ४० करोड ३४ लाख ३४ हजार अर्थात् ५५.६७ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख बजेट रहेकोमा ९ अर्ब २८ करोड ८५ लाख अर्थात् ७१.५ प्रतिशत गरी ६२.८२ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीले जनाएको छ । कुल बजेट २८ अर्ब १६ करोड २० लाख थियो ।
असार २५ सम्मको कुल खर्च ४८ प्रतिशत मात्रै थियो । त्यति बेलासम्म १३ अर्ब ५२ करोड ४० लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले बताएको छ । तर त्यसपछिका ६ दिनमा खर्च बढेर १७ अर्ब ६९ करोड २० लाख १३ हजार अर्थात् ६२ प्रतिशत पुगेको प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले जानकारी दिए । कुल खर्चको अंक पनि असारमा आएर मात्रै बढेको हो । जेठ मसान्तसम्म कुल खर्च ३३ प्रतिशत अर्थात् चालुमा ५ अर्ब ४८ करोड ९२ लाख थियो । पुँजीगत खर्च ३ अर्ब ८१ करोड १४ लाख मात्र थियो । असार १५ सम्म पुग्दा कुल खर्चमा झन्डै पाँच प्रतिशत वृद्धि भएर साढे ३७ प्रतिशत पुगेको थियो ।
‘असारको २५ दिनमा कुल खर्च झन्डै १५ प्रतिशत बढेको थियो । अन्तिम ६ दिनमा थप १५ प्रतिशत जति खर्च बढेको देखियो,’ जोशीले भने, ‘असारमा आएर खर्च बढ्ने पुरानै प्रवृत्ति हो ।’ मन्त्रालयहरूमध्ये सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च छ । उक्त मन्त्रालयले ८ अर्ब २६ करोड २५ लाख अर्थात् ८७.६९ प्रतिशत खर्च गरेको छ । त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कुल एक अर्ब ९२ करोड ९४ लाख अर्थात् ५७.९७ प्रतिशत खर्चिएको छ ।
FACEBOOK COMMENTS