काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सुन आयातको कोटा प्रणाली हटाउन सकिने बताएका छन् ।
नेपाल रत्न तथा आभुषण संघको १४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै गभर्नर डा. नेपालले सुन आयातको कोटा हटाउन केन्द्रिय बैंक तयार रहेको बताएका हुन् ।
गभर्नर नेपालले ‘सुन आयातको कोटा हटाउन केन्द्रिय बैंक तयार छ, तर सबै व्यवसायी मिलेर निर्यात परिषद गठन गरेर सुनका गहना निर्यात गर्न भने सक्नुपर्छ’, भने ।
उनले गहना निर्यातका लागि मौद्रिक नीतिले सुबिधा उपलब्ध गराएको बताउँदै त्यसलाई अझ बढाउन पनि आफु तयार रहेको स्पष्ट पारे ।
हाल बिहेको सिजनमा दैनिक २५ किलोग्राम सुन आयात हुँदै आएको छ । साधारण समयमा भने २० किलोग्राम आयात भैरहेको छ । नेपालमा सुन आयातको जिम्मेवारी बाणिज्य बैंकहरुले पाउँदै आएका छन् । नेपालमा सुनको माग दैनिक ५० किलोग्राम रहेको व्यवसायीहरुले बताउँदै आएका छन् । बाँकी सुन भन्सार छलेर भित्रिने गरेको तथ्यहरुले नै देखाईरहेका छन् ।
नेपाल रत्न तथा आभुषण संघको अध्यक्ष ज्योत्सना श्रेष्ठले सुन खरिदको लागि व्यवसायीहरुले सबै बाणिज्य बैंकहरुमा खाता खोल्नुपर्ने बाध्यता रहेको बताईन् । उनले एकाध बैंकबाट सुन आयात गर्न पाउनुपर्ने धारणा पनि राखेकी थिईन् ।
सरकारले बैंकहरु बाहेक निजी क्षेत्रलाई पनि सुनको आयात गर्न सक्ने नीतिगत व्यवस्था गर्नुपर्ने माग गरिन् ।
FACEBOOK COMMENTS