काठमाडौं, असोज २७ – सुनचाँदीको चोरी पैठारी गर्ने २ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले साढे २ अर्ब बराबरको राजश्व छलि मुद्दा दायर गरेको छ।
विभागका अनुसार रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ स्थित सोनी ज्वेलर्स का प्रोपराइटर तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका मुख्य संचालक सुनिल सुनारको नाममा नेपाली नागरिकताको प्रमाणपत्र समेत लिएका भारतीय नागरिक सुनिल सोनी र सोही नगरपालिका- ६ बस्ने अमित परियारले सुन चाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेको भेटिएको हो। विभागले ती दुई जनाविरुद्ध सोमबार उच्च अदालत बुटवलमा मुद्दा दर्ता गरेको हो।
विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय वुटवलबाट खटिएको टोलिले गत असार ३० गते बुटबल चौराहाबाट सुनिल सुनार (सुनिल सोनी)को कारभित्र बोरामा लुकाई छिपाई राखेको नगद सुन बरामद भएको थियो।
थप अनुसन्धान गर्दै जाँदा उनले सुन चाँदीको अवैध आयात निर्यात तथा बिक्री कारोबार गर्ने गरेको तथा मोबाइलको माध्यमबाट विभिन्न व्यक्तिहरुसग कारोबार गर्ने गरेको भेटिएको थियो। लामो समयको अनुसन्धानपछि राजश्व छलीका प्रमाण जुटाएर विभागले मुद्दा दायर गरेको हो।
FACEBOOK COMMENTS