काठमाडौं, पुस ५ – सैनिक मुख्यालयमा उच्च सैनिक अधिकृतहरूको बैठकमा संसद विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल भएको छ।
उक्त बैठकमा सैनिक उच्च अधिकारीहरूले पृतनापतिहरूलाई ‘हाई अलर्ट’मा बस्न निर्देशन दिएको सैनिक स्रोतले बतायो। संसद विघटनअघि नै बैठक सुरू भएको थियो। सेनाको यो नियमित बैठक थियो। नियमित बैठक चलिरहँदै त्यहाँ संसद विघटन सिफारिसको खबर पुगेको थियो।
‘संसद विघटनपछि देशमा हुलदंगा हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा अवस्थाबारे हाई अलर्टमा बस्न निर्देशन दिइएको छ,’ सैनिक स्रोतले भन्यो। सुरक्षाको सबैभन्दा अगाडिको पङ्ति प्रहरीको नेतृत्वमा हुन्छ। आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीहरूले स्थानीय प्रशासन ऐन प्रयोग गरी सुरक्षा स्थिति बिग्रिएमा सैनिकलाई खटाउन सक्छन्।
सेनाका अधिकारीहरूले जिल्ला प्रशासनको मेरुदण्डको रुपमा काम गर्नुपर्ने भएकाले अलर्ट रहन निर्देशन दिइएको बुझिएको छ। सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले संसद विघटनसम्बन्धी विषयले बैठकमा प्रवेश पाएको बताए।
‘देशको परिस्थितिअनुसार सुरक्षा रणनीति र विश्लेषण सेनाले गरिरहेको हुन्छ, आजको बैठक नियमित थियो, संसद विघटनबारे जानकारी भएपछि सो विषयले प्रवेश पाएको थियो,’ उनले भने।
FACEBOOK COMMENTS