काठमाडौं, जेठ ४ – साताको तीनै दिन लगातार बढेको सेयर बजार परिसूचक २८ सय अंक नजिक पुगेको छ । बैंकको ब्याजदर कम हुनु, बैंकमा तरलता बढ्दै जानु तथा अनलाइन कारोबारमा सुधारजस्ता कारणले सेयर बजार लगातार बढेको लगानीकर्ताको भनाइ छ ।
साताको तेस्रो दिन मंगलबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३४.६ अंकले बढेर २७९३.८९ को एतिहासिक अंकमा उक्लिएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि करिब १ प्रतिशतले बढेर ५०० अंक नजिक पुगेको छ ।
मंगलबारको बढोत्तरीसँगै नेप्से परिसूचक हालसम्मकै उच्च अंकमा उक्लिएको छ भने कारोबार रकम तथा सेयर कारोबार सख्या पनि हालसम्मकै उच्च रहेको छ । मंगलबार दिनभर २१५ कम्पनीको २ करोड ३१ लाख ३१ हजार कित्ता सेयर ११.३५ अर्बभन्दा बढी रुपैयाँ बराबरमा किनबेच भएको छ ।
यसअघि २०७७ माघमा १० अर्ब ५७ करोड बराबरको सेयर कारोबार भएको थियो । मंगलबार उत्पादनमूलक समूहको परिसूचकबाहेक सबै समूहको परिसूचक बढेको छ । निषेधाज्ञाको समयमा समेत होटल र पर्यटन समहूको परिसूचक सबै भन्दा धेरै ६.१५ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक ५.८७, जलविद्युत समहूको परिसूचक ३.४९, विकास बैंक समूहको परिसूचक ३.३३, लगानी समूहको परिसूचक २.८७ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस्तै, व्यापार, लघुवित्त, बीमा समूहको परिसूचक एक प्रतिशत माथिले बढ्दा बाँकी समूहको परिसूचक सामान्य बढेको छ ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार हाल निशेधाज्ञाका कारण लगानी गर्ने अन्य विकल्प नभएका कारण लगानीकर्ताहरुसँग पैसा पर्याप्त छ । साथै, बैंकहरुमा तरलता बढेका कारण मुद्धतिमा राखेको पैसा लिन आउनु भन्न थालिसके भन्दै उनी भन्छिन्, ‘त्यो पैसा लगानी गर्ने अहिलेको एक मात्र ढोका सेयर बजार नै हो ‘।
उनका अनुसार पुँजी बजारमा लगानीकर्ता पनि बढिरहेका छन् । ‘कोही बढ्यो भने बेचिहालौँ न भन्नेहरु पनि छन् । नयाँ सेयर किन्नेहरु पनि बढिरहेका छन्,’ उनी भन्छिन्, ‘यसैगरी, दिनदिनै बजार बढ्दा बेचेर बस्नेहरुले पनि फेरी सेयर किन्न थालेका छन् । जसका कारण हरेक दिन सेयर बजारले उचाइ लिँदै गइरहेको छ।’
यस्तै, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार पनि सस्तो पैसाका कारण सेयर बजार लगातार उकालो लागेको बताउँछन् । ‘बैंकको व्याजदर कम भएका कारण ८ प्रतिशतमा ऋण पाइएको छ,’ उनी भन्छन्, ‘अहिलेसम्म पुँजी बजारको लागि ९९ अर्ब ऋण लिइसकेको छ जबकि ४ खर्ब सम्म लिन पाइन्छ ।’
पछिल्लो समय ५ प्रतिशत पुँजीगत लाभ कर फिक्स हुनु, मार्जिन लोन ६५ प्रतिशतबाट बढेर ७० प्रतिशतमा पुग्नुजस्ता पँुजीबजारमा विभिन्न सुधारका कारण पनि बजार उकालो लागेको उनी बताउँछन् । नयाँ किर्तीमान कायम भएको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये एकैदिन ३३ कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ । नेपाल पुनर्बीमा कम्पनीको सबै भन्दा धेरै ६७.९२ करोड बराबरको सेयर किनबेच भएको छ ।
FACEBOOK COMMENTS