काठमाडौं, २१ मंसिर – सात अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको बजारमा सबै उपसूचक घटेर बजार १२३ अंकमुनि आइपुगेको छ । चार कम्पनीको सेयर मूल्य बढेको छ । यसबाहेक एक सामूहिक लगानी कोषको एकाइ र दुई बैंकको ऋणपत्रको मूल्य बढेको छ । बाँकी सबै ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार, आज बजारमा तीन वटा रेकर्ड बनेको छ । आज सर्वाधिक अंकले बजार घटेको हो भने जीवन बीमा सूचक पनि सर्वाधिक आज घटेर अर्को रेकर्ड राखेको छ । गत बिहीबार २७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको बजार पुँजीकरण आइतबार २५ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँमा झरेको छ । लगानीकर्ताले एक दिनमा एक खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ गुमाएका छन् । नेप्सेका अनुसार, जीवन बीमा सूचक ८ प्रतिशतले घटेको छ । १०४१ अंकले सूचक घटेको हो । यो समूहको सबैभन्दा उच्च दरको घटौती हो । यसबाहेक निर्जीवन बीमाको ५६९ अंकले झरेको छ । यसमा सबैभन्दा बढी घट्नेमा नेपाल रिइन्स्योरेन्स कम्पनी छ ।
कम्पनीको सेयर मूल्यमा घटेर सर्किट लागेको छ । किन घट्यो बजार राष्ट्र बैंकले गत बिहीबार साँझ गरेको मौद्रिक समीक्षाका कारण बजार घटेको ब्रोकर र लगानीकर्ता बताउँछन् । राष्ट्र बैकले तीन महिना अगाडि मात्र दिएको सुविधा बिहीबार कटौती गर्ने संकेत गरेपछि बजारमा आइतबार पहिरो गएको हो । राष्ट्र बैंकले धितोको ६५ प्रतिशतसम्म पाइने ऋणलाई ७० प्रतिशत पु¥याएको थियो । यसले गर्दा अधिक तरलता अनुत्पादक क्षेत्रमा गएको भन्दै उसले पुनरावलोकन गर्ने जनाएको छ । यसबाहेक बचतको ब्याज बढ्ने गरी केही नीतिगत हस्तक्षेप गरेको छ । तर, मुख्य कारण सेयर धितो ऋणमा गर्न लागिएको कडाइले सेयर बजार घटेको लगानीकर्ताहरुको बुझाइ छ ।
यसबाहेक राष्ट्र बैंकले ब्यक्तिगत ओभरड्राफ्ट ऋणमा पनि पुनरावलोकन गर्ने जनाएको छ । यस्तो ऋणको सीमा ५० लाख छ । यसलाई घटाउने तयारी राष्ट्र बैंकको हो ।
FACEBOOK COMMENTS