काठमाडौं – मौद्रिक नीतिको राहतले आइतबार चम्किएको सेयर बजार सोमबार फेरि ओरालो लागेको छ। सोमबार खुल्न साथ तीव्र गतिमा बढेको नेप्सेमा दुईपटक सर्किट ब्रेक लागेको थियो तर पछि बजार एकाएक घट्न लाग्यो। पाँच प्रतिशत बढेर १५५६ मा पुगेको नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ।
सोमबार बजार १४.०९ अंकले घटेर १४६४.९४ बिन्दुमा रोकिएको छ । सोमबार २ अर्ब ८० करोडको सेयर कारोबार भएको छ। परिसूचक उकालो लागेको बेला नाफा बुक गर्ने मध्यम लगानीकर्ताहरूको भीडले गर्दा बजारमा हरियाली टिक्न नसकेको बजार विश्लेषकले बताएका छन्।
नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले आइतबार सेयर बजारमा उछाल आएको छ। मौद्रिक नीतिले दिएको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका थिए।
आइतबार सेयर बजारमा अनियन्त्रित वृद्धि भएपछि तीनपटकसम्म सर्किट ब्रेक लगाउनुपरेको छ।नेप्से सूचक ८४.२६ अंकले बढेर १४७९.०३ विन्दुमा आइपुगेको थियो।
FACEBOOK COMMENTS