‘राति पौने १ बजे उठाएर एक्कासि हिँड भन्दा सरप्राइज नै भयो । घरको ढोकामा आइपुगेपछि अब नराम्रो केही नभए हुन्थ्यो ।’
कुवेतबाट बिहीबार ३ सय ६ जना आए, २ हजार ६ सय ८५ जना कुर्दै
काठमाडौँ — अर्दिया क्याम्पमा बुधबार राति १२ बजे बत्ती निभ्यो । बत्ती निभेपछि सुत्नुपर्ने क्याम्पको नियम थियो । रीता लिम्बूलाई भने निद्रा लगेन । किनभने अस्थायी क्याम्पमा राखिएका २ हजार ९ सय ९१ जनामध्ये ३ सय जना नेपालीलाई भोलिपल्ट बिहानै उडाउने भनिएको थियो तर पहिलो उडानमा को पर्छ भन्ने ग्यारेन्टी थिएन ।
कुवेतबाट स्वदेश फर्किएकाहरू बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै। गैरकानुनी रूपमा बसे र आममाफी पाएका ३ सय ६ जना नेपाली महिला बिहीबार जजिरा एयरलाइन्सको दुईवटा विमानबाट काठमाडौं आइपुगेका हुन्। तस्बिर स् हेमन्त श्रेष्ठरकान्तिपुर
रीता अर्दिया क्याम्पमा बस्न थालेको ४३ दिन पुगेको थियो । कोचिएर बस्दा उनी हैरान भइसकेकी थिइन् । कोरोना भाइरसको संक्रमण कामदार बस्ने क्याम्पमा फैलिन थालेपछि कुवेतले फेबु्रअरी २९ सम्म खल्लीवल्ली ९भगौडा० कामदारलाई नियन्त्रण लिने नीति लियो । प्रहरी लगाएर धरपकड गर्न सक्ने अवस्था भएन । त्यसको सट्टा आममाफी दिएर अस्थायी क्याम्पमा राख्ने, भिसाको मिति नाघेकालाई जरिवाना नतिराउने र फेरि कुवेत फिर्न पाइने अवसर दिइयो । नेपालीका लागि भने आममाफीका लागि वैशाख १४ देखि १८ सम्मको मिति तोकिएको थियो । चाहदैमा सुटुक्क क्याम्पभित्र प्रवेश गर्न दिइएन । अनेक झन्झटिलो कागजी प्रक्रिया थियो । रीताले अन्तिम दिन मात्रै फर्वानियाबाट क्याम्प छिर्ने अवसर पाएकी थिइन् ।
‘आममाफीका लागि लाइनमा बस्दा पहिलो दिन पालो आएन । दिनमा ५ सय जना मात्रै लिने रहेछन् । आफू बस्ने कोठा छाडेर लगेजसहित आएपछि फेरि फर्केर जाने अवस्था थिएन । साथीहरूसँग मिलेर होटलमा बस्यौं । भोलिपल्ट पनि दिनभर घाममा बस्दा पालो आएन । त्यही छेउमा साथीहरू मिलेर एउटा कोठामा बस्यौं । पर्सिपल्ट पनि पालो नआएपछि रातभर सडकमै जाग्राम बस्यौं,’ रीताले सुनाइन्, ‘अन्तिम दिन मात्रै भित्र छिर्न पायौं ।’
कुवेतमा रोजगारदाताको सहमतिविपरीत घरबाट निस्कने अधिकांशलाई चोरीको उजुरी हालिदिने गरिन्छ । रीताविरुद्ध भने रोजगारदाता ९घरमालिक० ले चोरीको उजुरी हालिदिएका रहेनछन् । उनले कानुनी हैसियतमा रोजगारदाताको घरमा एक वर्ष मात्रै काम गरेकी थिइन् । ‘कुवेतीका १ वर्षदेखि १० वर्षसम्मका ससाना ६ जना नानी थिए । एउटा बच्चा हेर्दा अर्को फुत्किने गर्थे । बच्चालाई केही भए सबै जिम्मेवारी हाम्रो हुन्थ्यो । आफ्नै ज्यान जोखिममा पर्ने भएपछि बाहिर निस्केर क्लिनिङको काम गर्थें । तलब पनि बाहिर राम्रो थियो ।’
रीताले झापामा फुपूको जिम्मामा ११ वर्षकी छोरी र ५ वर्षे छोरा छाडेकी थिइन् । कुवेतको लकडाउनले उनी काम गर्ने कम्पनी बन्द भयो । त्यसपछि आफ्नै कोठाको भाडा तिर्न र खाना खर्च जुटाउन नसक्ने अवस्था आइदियो । उनले आममाफीको बाटो समातिन् । उनलाई लाग्यो, ‘ज्यान रहे त फेरि कुवेत छँदै छ ।’
कोरोनाको संक्रमण र भोकबाट जोगिन छिरेको क्याम्पबाट बाहिर निस्कने दिनको प्रतीक्षामा रीता थिइन् । निदाउने प्रयास गरिरहेका बेला एक्कासि प्रहरीहरू होहोल्ला गर्दै आए र हलको बत्ती भटाभट बाल्न थाले । त्यतिखेर १२स्४५ भएको थियो । प्रहरीले तिमीहरूमध्येबाट केही नेपाल जाने सूचीमा परेका छौं भन्दै भटाभट नाम पढ्न थाले । त्यो सूचीमा रीताको पनि पर्यो । ‘५ मिनेटभित्र आफ्नो लगेज लिएर बाहिर बसमा गएर बस्नू,’ प्रहरी निर्देशन थियो । अर्को कोठामा ११ जना बच्चासहित महिलाहरू थिए । उनीहरू पनि बाहिर निस्केका थिए । तर नाम नपरेपछि निराश भएर कोठामा फर्के ।
रीता हस्याङफस्याङ हुँदै २० किलोको लगेज लिएर बस चढिन् । प्रहरी ‘एल्ला एल्ला’ ९छिटो छिटो० भन्दै चिच्चाइरहेका थिए । ‘एक्कासि हिँड भन्दा सरप्राइज नै भयो,’ उनले भनिन्, ‘हामी रनभुल्लै थियौं । कसैबाट सही सूचना पाइरहेका थिएनौं ।’
बस चढेर कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा नेपाली महिलाको होहल्ला थियो । उनीहरूलाई सिधै जजिरा एयरलाइन्सको काउन्टरमा लगिएको थिएन । एक तलामाथि गएर कोरोना परीक्षण गर्नुपर्ने व्यवस्था थियो । ‘रगत लिइयो । त्यसको ५ मिनेटभित्र कोरोना छैन भन्दै रिपोर्ट कार्ड आयो,’ उनले भनिन्, ‘रिपोर्ट कार्ड आएपछि मात्रै चेक इन गर्न पाइयो ।’
अस्थायी क्याम्प प्रवेश गर्नुअघि नै अपराधसम्बन्धी जाँच भइसकेकाले विमानस्थलको अध्यागमनबाट फिर्ता हुनुपरेन । उनी बोडिङ गर्नका लागि तोकिएको गेट नम्बर ‘बी ३’ मा पुग्दा १ सय ५७ जना लिएर जजिरा एयरलाइन्सको जे९–१५४१ उडिसकेको थियो । उनी चढेको जे९–१५४३ जहाज १ सय ४९ जना लिएर उड्यो । उनीहरू अर्दिया, जिलिप क्याम्प र डिपोर्टेसन सेन्टरमा रहेकाहरू थिए । ४ घण्टा ४५ मिनेटको उडानपछि त्रिभुवन विमानस्थलमा अवतरण हुँदा रीता दंग थिइन् । ‘छोरीहरूलाई छाडेको तीन वर्ष भएको थियो । सधैँ छोरीहरूले कहिले आउने भनेर सोधेकै सोधै गर्थे,’ उनले भनिन्, ‘काठमाडौं उत्रिएपछि छोराछोरीसँग कुरा भइसक्यो । उनीहरू दंग छन् । खुसीले भुइँमा खुट्टा छैन ।’
रीतालाई नेपाली सेनाले प्रदेश १ को होल्डिङ सेन्टरमा राखेको छ । ‘कुवेतमा ४३ दिनसम्म बस्दा बसाइ र खानाको विषयमा गुनासो गर्नुपरेन । दिनमा ३ पटक खाना दिइन्थ्यो । शौचालय र बाथरुम सफा थिए,’ उनले भनिन्, ‘घरको ढोकामा आइपुगेपछि अब नराम्रो केही नभए हुन्थ्यो ।’
कुवेतमा अझै २ हजार ६ सय ८५ जना अस्थायी क्याम्पमा छन् । जसमा १ हजार ६ सय ८८ जना पुरुष कामदार छन् । यसका लागि कम्तीमा अझै १८ वटा उडान गर्नुपर्नेछ । उनीहरूलाई दिनमा ३ उडानमार्फत नेपाल पठाउने कुवेतको प्रस्ताव छ । नेपाल सरकारले त्यसमा अनुमति दिइसकेको छैन । कुवेतस्थित नेपाली दूतावासले यसका लागि समन्वय भइरहेको जनाएको छ ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS