काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ।
कोषले पत्रकार सम्मेलनको आयोजना गरी भाका नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने,सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने,कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारबाही गर्ने तयारी गरेको छ।
कोषको भाका नाघेको कर्जा उठन बाँकी २७ करोड पाँच लाख ६४ हजार ५७९ रुपैयाँ रहेको छ। सो कर्जा नतिर्नेलाई सो कानूनी गर्ने प्रक्रिया अगाडि बढाएको कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले बताए। कोषले हालसम्म तीन अर्ब ५९ करोड ३१ लाख ३३ हजार ८९६ रुपैयाँ लगानी गरेको छ। त्यसमध्ये चार अरब २२ करोड सात लाख ४१ हजार १०४ रुपैयाँ लगानीमा रहेको छ ।
नेपालका १८ देखि ५० वर्षका बेरोजगार युवालाई स्वरोजगार बनाई तिनमा रहेको सीप,प्रतिभा र जाँगरलाई देशभित्रै प्रस्फुटित हुने अवसर प्रदान गर्ने लक्ष्यका साथ सरकारले २०६५ सालमा सो कोष स्थापना गरेको हो ।
FACEBOOK COMMENTS