काठमाडौं, असोज १८ – स्वास्थ्य समस्या भएका राष्ट्रिय खेलाडीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले आर्थिक सहयोग गरेको छ । कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्वराष्ट्रिय खेलाडीलाई उपचार खर्च स्वरुप आर्थिक सहयोग गरेको हो ।
कोषले एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका चार खेलाडीलाई आइतबार सहयोग स्वरुप चार लाख रुपैयाँ प्रदान गरिएको हो । एथलेटिक्सका पूर्वराष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरियो । क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो । उक्त रकम राईकी पत्नी मन्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरियो ।
बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरेको थियो । तीनै खेलाडीलाई घुँडाको समस्या रहेको र हाल पिजियोथेरापी गरिरहेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले उनीहरुलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरे । कल्याणकारी कोष २०६८ सालमा समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कोषका सदस्य-सचिव दीपक श्रेष्ठले जनाएका छन् । कोषमा जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गरिँदै आएको छ ।
FACEBOOK COMMENTS