काठमाडौं, पुस १८ – नेपाल स्वास्थ्यकर्मी संघ त्रिवि शिक्षण अस्पतालको अध्यक्षमा रामकुमार कार्की निर्वाचित भएका छन्। शुक्रबार भएको एक भेलाले रामकुमार कार्कीको अध्यक्षतामा १९ सदस्यीय इकाई समिति गठन गरेको हो। समितिले सचिवमा सुमित बोहोरा निर्वाचित गरेको छ।
समितिको उपाध्यक्षमा कालिप्रसाद रौनियार, कोषाध्यक्षमा प्रेमसुन्दर प्रधान, सदस्यहरुमा प्रमिला पोखरेल, दिपा श्रेष्ठ, प्रमोद गिरी, सुशील मण्डल, विष्णुकुमार भण्डारी, पारस खड्का, दुर्गा थपलिया, ममता रिजाल लगायत छन्। समितिको निर्वतमान अध्यक्ष पुष्पराज पन्त हुन्।
नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दीपक भट्ट र सचिव हर्क खड्काको उपस्थितिमा भएको भेलाले यी सबै पदाधिकारी सर्वसम्मतिले चयन गरेका हुन्। नवनिर्वाचित अध्यक्ष कार्कीले स्वास्थ्यकर्मीको हक अधिकारका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन्।
संघका केन्द्रीय महासचिव भट्टले स्वास्थ्यकर्मीको सुरक्षा सरकारको प्राथमिकतामा नपरेको गुनासो गरे। सरकारले प्रोत्साहन गर्न नसकेका कारण नै देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रन बाध्य भएको उनले बताए।
FACEBOOK COMMENTS