काठमाडौं, भदौ ३० – चिकित्सक र स्वास्थ्यकर्मीसहित मंगलबार पाल्पामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार युनाइटेड मिसन अस्पतालका ४, लुम्बिनी मेडिकल कलेजका ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । बाँकी १० जना अस्पतालमा उपचार गराएका बिरामी र समुदायका हुन् ।
पाल्पा अस्पतालमा बिरामी र चिकित्सककी ७ वर्षीय छोरीमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
लुम्बिनी मेडिकल कलेजमा चार जना डाक्टरमा कोरोना संक्रमण देखिएको छ । कलेजका कार्यकारी अध्यक्षसहित अन्य स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा। राजु शाक्यले बताए । ‘अस्पतालको इमर्जेन्सीबाहेकका सेवा के गर्ने भन्ने निर्णय भइसकेको छैन,’ उनले भने, ‘डायलसिस सेवालगायत सर्जरीका समेत संक्रमित भएका छन् ।’
पाल्पा अस्पताल र मिसन अस्पतालले इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेका छन् । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले बन्द गर्नु परेको मिसन अस्पतालकी निर्देशक डा। रचेल कारखले जनाएकी छन् ।
अस्पतालमा उपचार गर्न पुगेका बिरामी, चिकित्सक र समुदायमा देखिएपछि अस्पताल र स्थानीय तहले सेवा बन्द गरेका छन् ।
पूर्वखोला गाउँपालिकाअन्तर्गत सबै जनप्रतिनिधि, जोखिमयुक्त व्यापारी, बैंकका कर्मचारी, स्थानीय शंकास्पद व्यक्ति तथा गाउँपालिकाको कर्मचारी र अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरुको १ सय ८३ जनामा लिएको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए ।
FACEBOOK COMMENTS