काठमाडौं, जेठ ४ – स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई यसैसाता बिभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ । स्वीट्जरल्उाण्डले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्न लागेको हो ।
नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भन क्यापिलरले मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग टेलिफोन संवाद गर्दै यसबारेमा जानकारी दिएकी हुन् । राजदूत क्यापिलरका अनुसार, स्वीट्जरल्याण्ड सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्न लागेको हो ।
स्वास्थ्य सामग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौं आइपुग्ने स्वीस राजदूत क्यापिलरले जानकारी दिएकी छिन् । चार्टर्ड फ्लाइटको खर्च पनि स्वीस सरकारले नै व्यहोर्ने भएको छ ।
टेलिफोन सम्वादका क्रममा उपप्रधानमन्त्री पोखरेलले नेपाल र नेपालीप्रति सदभाव देखाएकोमा स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिएका छन् । कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित अमेरिकी राजदूत र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकसँग सहयोगका लागि अपिल गरेका थिए ।
FACEBOOK COMMENTS