काठमाडौं, २६ पुस – गोरखा दरबारबाट सुरु भएको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौंको हनुमानढोका आइपुगेको छ ।
पुस २१ गते देखि गोरखा दरबारबाट सुरु भएको ‘गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा’ आज (पुस २६ गते) साँझ काठमाडौंको हनुमानढोकामा रहेको शार्दुलजंग गुल्ममा आइपुगेको हो ।
पदयात्रामा नेपाली सेनाले गोरखा दरबारबाट राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र टर्चलगायत नेपाली सेनाका प्रथम पाँच युनिटका झण्डा काठमाडौं ल्याइपुर्याइएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा प्रयोग गरेको एकीकरणको बाटो हिँडेर एकताको सन्देश दिएको पनि नेपाली सेनाले बताएको छ ।
पदयात्रामा रहेको सेनाको टोली गोरखाबाट नुवाकोट हुँदै ६ दिन लगाएर आज हनुमानढोका आइपुगेको हो । आज नुवाकोट जिल्लाबाट आएको शम्शेरदल गणको टोलीले हनुमानढोकामा रहेको शार्दुलजंग गुल्मलाई गोरखा दरबारदेखि ल्याएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै नेपाली सेनाको प्रथम पाँचवटा युनिटको झण्डा हस्तान्तरण गरेको हो ।
हनुमानढोका दरबारमा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लबहरु, सर्वसाधारणलगायतले स्वागत गरेका थिए । सो अवसरमा शम्शेरदल गणले हनुमानढकोकामा तैनाथ शार्दुलजंग गुल्मलाई कार्यक्रम आयोजना गरी सैनिक ड्रिलको प्रदर्शन समेत गरेको थियो ।
पदयात्रामा रहेको टोलीले ल्याएको नेपालको झण्डा, टर्च र नेपाली सेनाको झण्डा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सोमबार प्रधान सेनापतिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
FACEBOOK COMMENTS