काठमाडौं, काठमाडौंको हनुमानढोकामा रहेको प्रहरी भवन भत्काउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल प्रहरीका आइजिपी दीपक थापाबीच मौखिक सहमति भएको छ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आइजिपी थापा छलफलका लागि पुगेका थिए।
अहिलेको जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय त्यतिबेला हनुमानढोकामा थियो। २०७२ सालको भूकम्पका कारण त्यहाँको भवन जीर्ण बनेको हो। त्यसपछि दुवै प्रहरी कार्यालयलाई अन्यत्र सारिएको थियो।
स्थानीयले विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायरमा प्रहरीको भवन राख्न नहुने भन्दै हटाउनुपर्ने माग राख्दै आएका छन्।
भूकम्पले चर्किएको हनुमानढोकाको भवन सुरक्षार्थ केही प्रहरी बस्दै आएका छन्।२०१२ सालमा स्थापना भएको यो कार्यालयमा रातो स्टिकर लगाइएको छ।प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेले दुई रोपनीको जग्गामा फैलिएको भवन भत्काउने मौखिक सहमति भएको बताए।
‘प्रहरी संगठन प्रमुख र मेयर शाहबीच हिजो भेट र कुराकानी भएको थियो। कुराकानीबाट भवन भत्काउने एक किसिमको मौखिक सहमति भएको छ,’ उनले भने। अहिले रामशाहपथमा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भवन पनि बनाउनुपर्नेछ। त्यस ठाउँमा जग्गाको पनि कमी भएकाले महानगरपालिकाले उपलब्ध गराउने सहमति भएको उनले बताए।
FACEBOOK COMMENTS