पोखरा, १३ बैशाख – विश्व प्रख्यात पर्यटक पदमार्ग अन्नपूर्ण आधार शिविरको देउराली र हिङ्कु गुफाको बीचमा गत माघ ३ गते हिउँपहिरोमा पुरिएर बेपत्ता भएकामध्ये आज शनिवार थप २ जनाको शव फेला परेको छ । गत माघ ३ गतेको हिउँपहिरोमा ४ कोरियाली पर्यटकसहित ३ जना नेपालीको ज्यान गएको थियो । पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव मोदीखोला भन्दा केहि माथी देखिएको स्थानीयले बताएका छन्।
उक्त दुईवटा शव कोरियाली पर्यटकको हुनसक्ने स्थानीयले बताएका छन् । भोलि आइतवार शवलाई पहिरोबाट बाहिर निकालिने स्थानीय देउराली ड्रीम लजका संचालक कृष्णमान गुरुङले बताए । प्रहरी लगायत सरोकारवालाहरुलाई खबर पुगिसकेको गुरुङले जानकारी दिए । शवको तस्वीर लिने काम भए पनि नेटवर्क गडबडीका कारण सम्बन्धित निकायमा सम्प्रेषण गर्न कठिनाई भइरहेको पानोरमा लज देउरालीका राम गुरुङले बताए । यस अघि गत बुधवार मात्रै नेपाली सहयोगी मेनबहादुर तामाङको शव फेला परेको थियो । तमाङको शव हिजो शुक्रवार मात्र पोखरा ल्याईएको थियो । त्यसैगरी गत फागुन १६ गते मात्रै अर्का नेपाली पदयात्रा सहयोगी सरोज परियारको पनि शव निकालिएको थियो ।
FACEBOOK COMMENTS