काठमाडौं,माघ २२- हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्ममा १ अर्ब ७४ करोड २४ लाख खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७ करोड ५३ लाख अर्थात २७.४५ प्रतिशत बढी हो ।
गत आवको पुस मसान्तमा १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको बैंकको नाफा चालु आवको सोही नाफामा ३७ करोड ५३ लाख रुपैयाँले बढेर १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ पुगेको हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार भएसँगै बैंकको नाफा बढेको हो। नाफा बढेपछि बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ११ करोड ६० लाख रुपैयाँ र शेयरधनी कोषमा ३ अर्ब १० करोड २७ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको वितरण योग्य मुनाफा ९२ करोड ९२ लाख रहेको देखिन्छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ रुपैयाँ २ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ८ रुपैयाँ ८८ पैसा बढेर ४० रुपैयाँ ९० पैसा पुगेको छ।
गत वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलन तर्फ १२.१९ प्रतिशत र कर्जा लगानी तर्फ ५.४१ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा १ खर्ब २२ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ७२ करोड ४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकले ब्याज आम्दानी तर्फ भने ३.३९ प्रतिशत वृद्धि गरेको छ । गत आवको ६ महिनामा २ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा ब्याज आम्दानी ८४ करोड रुपैयाँले बढाएर २ अर्ब ५७ करोड ८० लाख रुपैयाँ पुर्याएको छ ।
बैंकको वितरण योग्य नाफा भने ९२ करोड ९२ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ३० करोड ४३ लाख रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २० पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १३.७४ गुणा कायम भएको छ। सो अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा १.२८ प्रतिशत, आधार दर ८.९२ र स्प्रेड दर ५.३२ प्रतिशत रहेको छ।
FACEBOOK COMMENTS