दिपक पराजुली
हेटौडा,चैत २०- प्रदेश सरकारको पहलमा आजबाट हेटौडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट नै कोरोनाको परिक्षण शुरु भएको छ। ल्याबका लागि चाहिने सबै उपकरण जडान भैसकेको र जनशक्ति पनि आइसकेकोले आज देखि परिक्षण शुरु गरिएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए।
ल्याबमा प्रत्येक दिन ७५ वटासम्म संकलित नमुना परिक्षण गर्न सकिनेछ । छिमेकी रास्ट्र भारतसम्म कोरोना फैलिसकेको अवस्थामा सबैमा सचेत र सावधानी अपनाउन आग्रह गर्दै उनले कोरोना नियन्त्रणको लागि प्रदेश सरकारले सम्पूर्ण तयारी पुरा गरेको बताए।
नेपाल सरकारको दुरदर्शी र प्रभावकारी कदमको कारण देशमा कोरोना भित्रिए पनि फैलिन नसकेको भन्दै उनले कोरोना संक्रमित पनि केहि दिनमा स्वास्थलाभ गरि फर्कनेमा बिश्वास व्यक्त गरे । कोरोना नेपालमा नफैलिनुलाई कसैको कृपा भनियो भने अहोरात्र खटिने नेपाली स्वास्थकर्मी, सुरक्षाकर्मी र विभिन्न निकायका सरकारी व्यक्तित्वको मुख्य भूमिका अवमुल्यन हुने मुख्यमन्त्रीको भनाइ छ।

परिक्षण शुरु गरिएको भएपनि अहिलेसम्म परिक्षणको लागि कुनै नमुना संकलन भै नआएको सामाजिक बिकास मन्त्रालयका सचिव दिपेन्द्र सुबेदीले बताए।
