काठमाडौं, पुस १२- हेम बहादुर मल्ल पुरस्कारबाट विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र डा. सन्दुक रूइत सम्मानित भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र नेपाल जनप्रशासन संघद्वारा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रम माझ उपराष्ट्रपति वर्षमान पुनले उनिहरुलाई सम्मान गरेका हुन् । साल्ट ट्रेडिङ कर्पोरेसनले हरेक वर्ष प्रदान गर्दै आएको हेमबहादुर मल्ल पुरस्कार २०७३ बाट घिसिङ र २०७४ बाट रूइत सम्मानित भएका हुन् ।
उक्त पुरस्कारको राशि २/२ लाख रुपैयाँ रहेको छ । घिसिङलाई नेपालको जल बिध्युतको क्षेत्रमा पुर्याएको योगदान र डा. सन्दुकलाई नेत्र चिकित्साको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपरास्ट्रपति पुनले सम्मानित ब्यक्तित्वहरुले देश र समाजका लागि बिशिस्ठ योगदान पुर्याएको बताउदै जिम्मेवारीवहन गर्ने क्रममा कसैले पनि आफ्नो दायित्वलाई भुल्न नहुने बताए ।
कार्यक्रम माझ बोल्दै पुरस्कार छनौट समितिका संयोजक समेत रहेका प्रमुख सुचना आयुक्त कृष्ण हरि बास्कोटाले हेम बहादुर मल्ल एक कुशल प्रशासक रहेको स्मरण गर्दै असल र राम्रा कामलाई प्रोत्साहन दिने उदेश्यका साथ बि. स. २०५९ साल देखी कर्पोरेशनको प्रायोजनमा हेम बहादुर मल्ल सम्मान प्रदान गर्न थालिएको बताए ।
कार्यक्रममा साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका अध्यक्ष लक्ष्मी दास मानन्धरले हेम बहादुर मल्लको योगदानको चर्चा गर्दै साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको विकास र सेवा बिस्तारमा ठुलो देन रहेको उल्लेख गरे । साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले हेम बहादुर मल्ल सम्मानले नेपालको प्रशासन क्षेत्र उत्साहित बन्दै जानेमा आफू आशावादी रहेको प्रतिकृया दिईन ।
FACEBOOK COMMENTS