काठमाडौं, चैत २३ – ९२ वर्षिय निर्देशक तथा निर्माता हेमबहादुर लामा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजले आफ्नो १३ औं वार्षिक साधारण सभाको अवसर पारेर लामालाई सो सम्मान दिएको हो ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, चलचित्र निर्देशकहरु युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी, नारायण पूरीलगायतले लामालाई सम्मान दिए । लामाले ‘आदर्श नारी’ फिल्मको निर्माण तथा निर्देशन गरेका थिए ।
कार्यक्रममा युवा चलचित्र निर्देशक सम्मान ऋषि लामिछाने तथा लोकप्रिय निर्देशक सम्मान दीपाश्री निरौलाले पाए । निर्देशक समाजको विगतदेखि वर्तमानसम्मको वृत्तचित्र प्रदर्शन गरेर सुरु भएको कार्यक्रम निर्देशक समाजले अक्षय कोषको समेत घोषणा गरेको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पशुपति क्षेत्र विकास कोषका अध्यक्ष डा.घनश्याम खतिवडा तथा कान्तिपुर टेलिभिजन तथा रेडियो कान्तिपुरका स्टेशन मेनेजर दिनेश डिसीलाई समेत सम्मानित भएको कार्यक्रममा चलचित्र क्षेत्रका थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।