काठमाडौँ, मंसिर ५ – होटल संघ नेपाल (हान)का निवर्तमान अध्यक्ष तथा अमर होटलका सञ्चालक अमरमान शाक्यको कोरोना संक्रमणका कारण शुक्रबार बिहान निधन भएको छ।
तीन सातादेखि बिरामी रहका शाक्यको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना संक्रमणसँगै निमोनिया भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। ६८ वर्षीय शाक्य अमर होटलका संचालक हुन्। उनका दुई छोरा छन्।
कालिमाटीको भित्र ताहाचलस्थित अमर होटलमा सञ्चालक शाक्य आफैंमा ठूला होटल व्यवसायी नभए पनि मुलुकका सबैजसो पाँच तारे र ठूला होटलका लागि उनको नेतृत्व स्वीकार्य थियो । फलस्वरुप उनले तारे होटलहरुको संगठन होटल संघ नेपालको नेतृत्व गर्ने अवसर पाए ।
हानमा उनी निर्वाचित भएसँगै एकतारे होटलका सञ्चालक भनेर टिप्पणी हुने गरे पनि उनको कर्मशील तथा इमानदार व्यक्तित्वका कारण उनले आफ्नो कार्यकालका उपलब्धिबाटै यसको जवाफ दिएका थिए । वर्षौंदेखि पिलो बनेर रहेको सेवा शुल्क बाँडफाँडजस्तो गम्भीर विषयलाई उनले सहज ढंगले समाधान गरेका थिए ।
FACEBOOK COMMENTS