काठमाडौँ, भदौ २८ – दाङमा एक होटल सञ्चालिकाले प्रहरी हवल्दारलाई चक्कु प्रहार गरी घाइते बनाएकी छिन्। जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत् प्रहरी हवल्दार ४० वर्षीय खड्गबहादुर खत्री ती महिलाको चक्कु प्रहारबाट घाइते भएका हुन्।
टाउको र शरीरका विभिन्न ठाउँमा चक्कुको चोट लागेका प्रहरी हवल्दार खत्री राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्किसकेको प्रहरी उपरीक्षक गणेश चन्दले बताए। प्रहरीका अनुसार घटना शनिबार बेलुकाको ७ बजेतिर घटेको हो। जिल्ला प्रहरी कार्यालय घोराहीको गेटअगाडि होटल गर्ने महिलाले होटेलभित्रै ती प्रहरी हवल्दारलाई शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेकी हुन्।
‘उहाँलाई टाउको लगायत शरीरका विभिन्न भागमा चोट पटक छ,’ चन्दले भने, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि उहाँ डिस्चार्ज भइसक्नु भएको छ।’ अहिले ती प्रहरी हवल्दारलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा थुनेर राखिएको ती अधिकारीले बताए।
‘मदिरा सेवनपछि प्रहरी हवल्दारले ती महिलालाई जिस्काउँदा विवाद भएको भन्ने कुरा आएको छ,’ प्रहरी स्रोतले भन्यो। तर, दाङ प्रहरीले घटना हुनुको विवादबारे बताएको छैन।
मदिरा सेवनपछि आवेशमा आएर महिलाले चक्कु प्रहार गरेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ। ‘प्रहरी हवल्दारले तिम्रो पनि श्रीमान् छैन र मेरो पनि श्रीमती छैन भन्ने कुरा गरेपछि आवेशमा आएर होटल साहुनीले चक्कु हानेको भन्ने कुरा छ,’ एक प्रहरी अधिकृतले भने।
घाइते प्रहरी हवल्दार खत्री, चक्कु प्रहार गर्ने होटल साहुनी र अर्का एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको बुझिन आएको छ। एसपी चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए।
FACEBOOK COMMENTS