काठमाडौं, चैत १२ — कतारको दोहा हुँदै काठमाडौं आएको विमानमा यात्रारत १९ वर्षीया युवतीमा कोभिड– १९ (कोरोना) संक्रमण पुष्टि सँगै सवार अन्य यात्रुको खोजी सुरु भएको छ । उक्त विमानबाट ती युवतीसँगै नेपाल आएका एक सय २५ जनाको नाम ठेगाना प्रहरीले पत्ता लगाएको बताएको छ ।
सरकारी निकायबाट आधिकारिक धारणा सार्वजनिक गर्न ढिलाइ भएसँगै उक्त विमानमा सँगै आउने अन्य यात्रुबारे चासो बढेको छ । उक्त विमान कति बजे अवतरण भएको थियो, त्यसको कल साइन कति थियो र कति यात्रु थिए भन्नेबारे आधिकारिक धारणा सार्वजनिक भएको छैन । योसँगै सामाजिक सञ्जालमा उक्त दिन कतारबाट काठमाडौं ओर्लेका यात्री लक्षित अफबाह फैलिन सुरु भएको छ ।
संक्रमणको पुष्टि भएको जानकारी दिन स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलन करिब १ बजेतिर सकिएको थियो । फ्रान्सबाट कतार हुँदै आएकी युवतीमा संक्रमणको पुष्टि भएको बताउंदै स्वास्थ्यमन्त्रीले उक्त विमानमा आउने अन्य यात्रुको खोजी गरिने बताएका थिए । तर पत्रकार सम्मेलनमा कुन कल साइनको विमानमा कति बजे ती संक्रमित यात्रु आएकी हुन्, त्यसमा कति यात्रु थिए भन्ने बताइएको थिएन । सरकारी तवरबाट औपचारिक रूपमा जानकारी नआए पनि पत्रकार सम्मेलन सकिएको एक घण्टालगत्तै सामाजिक सञ्जाल फेसबुकमा एउटा फोटो भाइरल हुन थालिसकेको थियो । उक्त फोटोमा कतार एअरवेजको विमान उडिरहेको देख्न सकिन्छ । जसमा लेखिएको छ, ‘क्यूआर ६५० मा चैत ४ गते जो कोही चढेर नेपाल आउनुभएको छ भने आफूलाई तुरुन्त चेकअप गराउनुहोला ।’
सामाजिक हितका निम्ति भन्दै राजनीतिक दलका नेता, उच्चपदस्थ पूर्वकर्मचारीहरू, साहित्यकार र केही सञ्चारकर्मीहरूले नै जोडतोडले सेयर गरिरहेका थिए । तर कान्तिपुरले अध्यागमन विभाग र स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ अधिकारीसंग गरेको कुराकानीले उक्त कल साइनको विमानमा ती संक्रमित यात्रु नआएको पुिष्ट हुन्छ । उक्त विमान चैत ४ को साँझ ७ बजे विमानस्थलमा अवतरण गरेको थियो । जबकि संक्रमित यात्रु आएको विमान सोही दिन १ सय ५८ यात्रुसहित बिहान चैत ४ गते १० बजेर १२ मिनेटमा अवतरण भएको देखिन्छ ।
कतिसम्म भने सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताले गलत सन्देश भएको विमानको फोटोकै आधारमा उक्त विमानमार्फत यात्रा गरेका यात्रुको नाम र ठेगाना नै सार्वजनिक गरेर ती यात्रुबाट जोगिन अपिल गरेको देखिन्छ । सोमबार नै पत्रकार कनकमणि दीक्षितले ट्विटरमा कतार एअरवेजको कल साइन क्यूआर ६५० मा यात्रा गरेर काठमाडौं आएका यात्रुहरूलाई आइसोलेसनमा बस्न अनुरोध गरे ।
पछि सोही विमानमार्फत यात्रा गरेका एक यात्रुले आफू आएको विमान संक्रमितले यात्रा गरेको विमान नभएको ट्विटरमा बताए । कोरोना संक्रमित व्यक्ति संक्रमित आएको विमान क्यूआर ६५२ रहेको बताएपछि ३ लाख २१ हजार फलोअर्स भएका दीक्षितले यही ब्योहोरा लेखेर माफी मागे । उनी मात्र होइन पूर्वसचिव भीम उपाध्यायले पनि बिनापुष्ट×्याइँको गलत सन्देश फेसबुकमार्फत सार्वजनिक गरे । मंगलबार ५ बजेसम्म उक्त गलत सन्देशसहितको स्टाटस ३ सय ४९ जनाले सेयर गरेको देखिन्छ । कतिसम्म भने उपाध्यायको पोस्टमा कैयनले संक्रमितको नाम सार्वजनिक गर्नुपर्ने मागसमेत राखेका छन् । रामहरि रिमाल नामका फेसबुक प्रयोगकर्ताले त झन् कोरोना लागेको मान्छेको तीनपुस्ते विवरण र तिनलाई भेटेका मान्छेको नाम सार्वजनिक गर्न माग गरेका छन् ।
सामाजिक सञ्जालबाट फैलिएको हल्लाकै कारण गलत कल साइन भएको विमानका यात्रुहरू आइसोलेसनमा बस्ने र संक्रमित यात्रु आएको विमानका यात्रुहरू बेफिक्री रहने जोखिम बढेको छ । यद्यपि मंगलबार साँझसम्म पनि अध्यागमन विभागले संक्रमित यात्रु चढेर आएको विमानबारे औपचारिक जानकारी दिएको छैन । न उक्त दिन आगमन कक्षमा कार्यरत अध्यागमन अधिकारीहरूलाई नै सचेत गराएको छ ।
कान्तिपुरसँग सम्पर्कमा आएका केही अध्यागमन अधिकारीले संक्रमित चढेर आएको विमानको कल साइन क्यूआर ६५२ र बेलुका समयको पुष्टि गरे पनि नाम खुलाउन चाहेनन् । एक अधिकारीले भने, ‘उक्त विमानबारे नभन्नू भन्ने आदेश छ । कल साइन थाहा हुँदा व्यक्तिको पहिचान खुल्ने र समस्या आउँछ भनेर नबोल्नू भनिएको छ ।’
सामाजिक सञ्जालमार्फत फैलिएको अफबाहकै कारण कतिपयले व्यक्तिको नाम नै किटेर सामाजिक सञ्जालमा ‘ती व्यक्तिबाट सतर्क हुनुस्’ भन्नेजस्ता सन्देश पनि फैलाइएका छन् । कतिपयले भने सामाजिक सञ्जालमार्फत नै आफू उक्त विमानमा चढेर नआएको प्रस्टीकरण दिइरहेका छन् । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले संक्रमित यात्रुसँगै यात्रारत यात्रुहरूको परिचय खोलेर सामाजिक सञ्जालमा लेख्नु गोपनीयताको हकविरुद्धको काम भएको भन्दै व्यक्तिको परिचय खोल्ने काम गर्न नमिल्ने बताए । उनले भने, ‘स्वास्थ्यसँग जोडिएको विषय भएकाले व्यक्तिको परिचय खोल्दा सामाजिक रूपमा हुने व्यवहारमा परिवर्तन आउने वा अनय घटना हुने जोखिम रहन्छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS