काठमाडौं – नेपाल हस्तकला महासङ्घको आयोजनामा भृकुटीमण्डपमा भएको १६औं हस्तकला व्यापार मेला तथा १४औं हस्तकला प्रतियोगिता १० करोड रुपैयाँबराबरको कारोबार गर्दै सम्पन्न भएको छ ।
२ लाखले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।
मेलामा ६ ओटा पेभिलियनसहित १ सय ७० ओटा स्टलमार्फत नेपालका साथै भारत, चीन, पाकिस्तान, श्रीलङ्का, भुटान, बङ्लादेशलगायत देशका प्रदर्शकले हस्तकलाका सामग्री प्रदर्शन गरेका थिए ।
मेला सम्पन्न गर्न करीब १ करोड रुपैयाँ खर्च भएको आयोजकको भनाइ छ । मेला समापनकै अवसरमा १४औं हस्तकला प्रतियोगिताका उत्कृष्ट प्रतियोगीका साथै उत्कृष्ट स्टललाई पुरस्कृतसमेत गरिएको थियो ।
पछिल्लो समय चीन, हङ्कङजस्ता मुलुकमा हस्तकलाका सामग्रीको प्रदर्शनीले नेपाली हस्तकलाको प्रवद्र्धन भएको सङ्घका अध्यक्ष धर्मराज शाक्यले मेला समापनका अवसरमा बताए ।
मेलाकै अवसरमा सम्पन्न १४औं हस्तकला प्रतियोगिताअन्तर्गत ‘ढाका बुनाइ’ विधातर्फ चुना बाँस्तोला प्रथम, देउमाया लिम्बू दोस्रो र ज्ञानीमाया तामाङ तेस्रो भए । प्रतियोगितामा विभिन्न जिल्लाका १३ जनाले प्रतिस्पर्धा गरेका थिए ।
FACEBOOK COMMENTS