काठमाडौं, असोज १९ – विराटनगरको नोवेल मेडिकल कलेजले २४ घण्टामै पिसिआरको फरक-फरक रिपोर्ट दिएको छ । नोवेलको स्वाब परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा एक युवाको रिपोर्टमा पहिलो पोजेटिभ र पछि नेगेटिभ आएको हो ।
शुक्रबार ती युवाले स्वाब दिएका थिए । उनको रिपोर्ट आइतबार पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि आइतबारनै फेरी परीक्षणका स्वाब दिए । उनको पछिल्लो रिपोर्ट नेगेटिभ आयो । उनी सोमबार प्रहरी साहयक निरीक्षक (असइ) को परीक्षामा समेत सामेल भएका छन् ।
‘पहिलो पटक यस्तो रिपोट आएको छ,’ नोवेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नारायण दाहालले भने, ‘हामीले सोमबार पनि उहाँलाई स्वाब संकलनका लागि बोलाएका छाैँ।’
स्वास्थ्य मन्त्रालयले एक हजार पाँच सय रुपैयाँमा पिसिआरको परीक्षण गर्ने बताएपछि नोवेलले सरकारी रेटमा पिसिआर परीक्षण गर्ने घोष्णा गरेको थियो । तर, ती युवाले आफुले दुई हजार तिरेर पिसिआर परीक्षण गरेको बताए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भाइरोलोजिस्ट एक डाक्टरले २४ घन्टामै रिपोर्ट फरक आउनु आश्चर्य भएको बताए । स्वाब संकलन गर्दा त्रुटी भएकोले रिपोर्ट फरक आएको हुन सक्ने उनको अनुमान छ ।
FACEBOOK COMMENTS