काठमाडौं – वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ४८ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका छन्।
हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले आव २०७४÷०७५ मा यो नाफा गरेका हुन्। यो नाफा अघिल्लो आवभन्दा करिब १८ प्रतिशत बढी हो।
आव २०७३÷०७४ मा यी बैंकले ४१ अर्ब ५८ करोड नाफा कमाएका थिए। २७ वटा वाणिज्य बैंकमध्ये सिभिल, सेञ्चुरी र जनता बैंकको नाफा अर्बभन्दा कम र अन्यको अर्बभन्दा बढी छ।
राष्ट्रिय वाणिज्य बैंकबाहेक गत आवमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ। नबिलले गत आव चार अर्ब पाँच करोड नाफा गरेको छ। अघिल्लो आवमा यो बैंकको नाफा तीन अर्ब ६१ करोड थियो।
नबिलपछि तीन अर्बभन्दा बढी नाफा कमाउनेमा तीनवटा बैंक छन्। कृषि विकास बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा साढे तीन अर्बभन्दा माथि छ भने नेपाल बैंकको नाफा तीन अर्ब ३९ करोड छ।
बैंकहरूले कर्जा र निक्षेप दुवैको ब्याज अघिल्लो आवदेखि घटाएका छैनन्। लगानीयोग्य पुँजी अभावका बेला कायम भएको ब्याजदरमा त्यति धेरै परिवर्तन नआउनुले नाफा बढाउन सहयोग पुगेको छ। अघिल्लो आवको तुलनामा बैंकले पुँजी वृद्धि गरेकाले गत आवमा नाफा बढाउन सजिलो भएको हो। – अन्नपूर्णपोष्ट
FACEBOOK COMMENTS