काठमाडौं, पुस २२ – वैशाखयता मात्रै २८ सय उद्यमी–व्यवसायीलाई कालोसूचीमा राखिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी ध्यानाकर्षण गराएको हो ।
भेटवार्तामा उद्यमी–व्यवसायीले बुझाउनुपर्ने कर विवरणको म्याद र बैंकको साँवा–ब्याज भुक्तानी गर्ने समय बढाउन आग्रह गरेको छ ।
कोभिडका कारण गत आवको अन्तिममा साढे तीन महिना लकडाउन र चालू आवमा एक महिना निषेधाज्ञा हुँदा कम्पनीहरूले लेखापरीक्षण समयमै गर्न नसकेको यथार्थ बताउँदै विवरण बुझाउने म्याद तीन महिना थप गरिदिन अर्थमन्त्री पौडेलसँग आग्रह गरेका छन् । उद्यमी–व्यवसायीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र (पुस मसान्तसम्म) अघिल्लो आवको लेखापरीक्षण गरिएको प्रतिवेदनसहितको विवरण सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।
भेटवार्तामा महासंघ प्रतिनिधिमण्डलले म्याद नथपिएमा ५० प्रतिशतभन्दा बढी साना तथा मझौला उद्यम–व्यवसाय बन्द हुने अवस्थामा पुग्ने पनि अर्थमन्त्रीलाई जानकारी गराएको छ । व्यवसायीको सुझाब सुनेपछि अर्थमन्त्री पौडेलले महासंघका तर्फबाट राखिएका सुझाबहरूलाई आफूले गम्भीरतापूर्वक लिएको र प्राप्त सुझाबहरूको कार्यान्वयनमा सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।
FACEBOOK COMMENTS