काठमाडौं, जेठ २४ – नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरूले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको ३२औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित वेबिनारमा सरोकारवालाहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।
लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्घ बन्ने उनीहरूको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले अर्थतन्त्रको निर्माण र सञ्चालनमा निजी क्षेत्रको सहकार्य सँगसँगै जाने नीति लिएको बताए । लघु, साना तथा घरेलु उद्योगहरूको विकास, प्रवद्र्घन, सम्वद्र्घनका सन्दर्भमा यसले लिने नीति र कार्यक्रमका सन्दर्भमा विविध आयामका सन्दर्भमा महासंघका पदाधिकारीहरूको सल्लाह सुझावबाट सरकार अहिलेसम्म अगाडि बढिरहेको उनको भनाइ छ ।
आगामी दिनमा पनि उद्योगी व्यवसायीहरूका महत्वपूर्ण सुझावहरूलाई महत्वका साथ लिने भन्दै उनले साना उद्योगको सन्दर्भमा सरकारले ल्याएको बजेटमा पनि महासंघकै सुझावका आधारमा धेरै विषय समेटिएको सचिव पोखरेलको भनाइ छ । मुलुकको साधन स्रोतको अवस्थालाई हेरेर साना उद्योगका धेरै विषयलाई समेटेर लैजाने प्रयास गरेको भन्दै उनले भने, ‘आगामी दिनमा पनि यस्तो प्र्रयास रहिरहने छ ।’
नेपालमा कोभिड महामारी शुरू भएयता यस्ता उद्योगको महत्व झनै बढेको भन्दै सचिव पोखरेलले भने, ‘घरेलु उद्योग भनेको स्थानीय कच्चा पदार्थ र प्रविधिमा आधारित भएको, हामीले आफैले सञ्चालन गर्न सकिने र लगभग बजार पनि हाम्रो आफ्नै भएको हुँदा यसको दीगोपना छ भन्ने बुझेका छौं ।’ साना उद्योगसँग सरकार सँगसँगै हिँड्ने, सरकारको तर्फबाट असल प्रयास भइरहने प्रतिवद्घता व्यक्त गर्दै उनले जुनसुकै उद्योगहरूलाई निश्चित पूर्वाधार सरकारले दिनुपर्नेमा जोड दिए ।
‘मैले मन्त्रालयमा जिम्मेवारी सम्हालेदेखि धेरै फोरमहरूमा भनेको छु राज्यले पाँचवटा विषयहरू उद्योग क्षेत्रमा दिनुपर्छ । त्यो भनेको पहिलो नीति संरचना त्यसपछि सरल र सहज रूपमा पूँजीको उपलब्धता, श्रमिकको उत्पादन गरिदिनुपर्छ, उद्योगलाई चाहिने बजार पूर्वाधार र भौतिक पूर्वाधारहरू पनि बनाइदिनुपर्छ,’ सचिव पोखरेलले भने ।
विशेषगरी साना तथा घरेलु उद्योगहरूका लागि त बजारको लिंक गरिदिनुपर्छ भन्ने मन्त्रालयको बुझाई रहेको भन्दै उनले त्यसै अनुरूप सरकारले काम गरिरहेको बताएका छन् ।
त्यस्तै महासंघका अध्यक्ष श्याम गिरीले धेरै देशको अर्थतन्त्र भनेको स–साना उद्योगहरूको प्रवद्र्घनबाट शुरू भएको पाइएको बताए । ‘खासगरी एसियाकै दुई मुलुक ताइवान र जापानलाई हेर्यौं भने त्यहाँको मेरुदण्ड भनेकै त्यहाँका ग्रामीण तह र घरमै रहेका साना उद्योगहरूलाई ठूला उद्योगहरूसँग जोडेर आज सफल भएका छन्,’ उनले भने ।
अमेरिककाकै इतिहास हेर्ने हो भने पचास वर्षको दौरानमा अमेरिकाले साना उद्योगको प्रवद्र्घनबाट फड्को मारेको भन्दै उनले अगाडि भने, ‘विश्व अर्थतन्त्रको पाँचभाग मध्ये डेढ भाग सम्हालेर बसेको अमेरिकाले हाम्रा जस्तै स–साना उद्योग एसएमईलाई नै प्राथमिकातामा राखेर त्यही नै अर्थतन्त्रको मेरुदण्ड हो भनेर अगाडि बढाएको छ ।’
नेपाल अल्पविकशित राष्ट्रका रूपमा रूपान्तरित हुँदै गरेको अवस्थामा हामीले केही मापदण्ड पुरा गरेका छौं तर आर्थिक हैसियत र पूर्वाधार विकास गर्यौं कि गरेनौं बुझ्न जरुरी भएको उनको भनाइ छ । ‘सरकारको मात्रै दायित्व नबुझेर हामी निजी क्षेत्रको पनि ग्रामीण अर्थतन्त्र र साना खालको उद्यम व्यवसाय खासगरी गरिबीको रेखामुनी रहेका र मध्यमवर्गीय परिवार संलग्न रहेको साना खालको कृषि उद्यम र साना खालको उद्यम व्यवसाय जसमा प्रत्यक्ष रूपमा पाँच लाख परिवार र अप्रत्यक्ष रूपमा अर्को १५ लाख परिवार यही क्षेत्रमा आश्रित छ,’ उनले भने ।
अघिल्लो वर्ष महिला उद्यमी कोषलाई महिला उद्यमी कर्जाको रूपमा परिणत गर्ने र वाणिज्य बैंकमार्फत यसमा लगानी गर्ने भन्ने कार्यक्रम लागू गरियो तर लक्षित वर्गले सहजै प्राप्त गर्न नसकको भन्दै अध्यक्ष गिरीले भने, ‘हाम्रो नेटवर्कमा रहेका ११ हजार महिला उद्यमीमध्ये दुई चार सय भन्दा बढीले यो सुविधा प्राप्त गर्न सक्नुभएन । त्यसैगरी युवा उद्यमीको हकमा खासगरी शैक्षिक बेरोजगारलाई उद्यमी बनाउने सन्दर्भमा विशिष्ट जातिगत पहिचानसहित आफ्ना उद्यम प्रवद्र्घन गर्ने सन्दर्भमा र अन्य लघु घरेलु तथा साना उद्योगलाई प्रवद्र्घन गर्न अघिल्लो बजेटले व्यवस्था गर्दागर्दै पनि कतिपय कार्यान्वयन हुन सकेन ।’
पुनः कर्जाकै सन्दर्भमा कतिपय प्रावधानले गर्दा लघु घरेलु उद्योगीले नपाउने अवस्था सृजना भएको भन्दै आगामी मौद्रिक नीतिमार्फत व्यवस्था गर्न उद्योग मन्त्रालयले प्रयास गनुपर्नेमा उनको जोड थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर शुरूवात गरेको महासंघ आज ७७ वटै जिल्लामा पुगेको छ भने ३४१ वटा पालिका र सरकारको २६ वटा समितिमा पुगेको बताए । उद्यमीहरूका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको भन्दै उनले अहिले पाँच लाखको हाराहारीमा रहेका उद्योगीहरूलाई सरकारले मान्यता दिएर हरेक समितिमा राखेको जानकारी दिए ।
ती समितिहरूमा साना उद्योगीहरूको समस्या र आइपरेका समाधानका उपायहरू अवलम्बन गरेको उनको भनाइ छ । ‘अघिल्लो वर्ष सरकारले सदासयता देखाएको थियो, नीति तथा कार्यक्रम र बजेटमा महासंघले दिएका सुझावका आधारमा धेरै सम्बोधन गरेको थियो । तर कार्यान्वयन पक्ष एकदमै कमजोर भयो र त्यसकै निरन्तरता अहिलेको बजेटमा पनि दिइएको छ । अब कार्यान्वयनमा जोड दिनुपर्ने हाम्रो माग छ,’ वरिष्ठ उपाध्यक्ष सिंहले भने ।
महासंघ केन्द्रीय महिला उद्यमी समितिका सभापति अञ्जु उपाध्यायले साना उद्यमीहरूको हकहित संरक्षण गर्न जन्मेको महासंघ आज हजारौं उद्यमी व्यवसायीलाई गोलबद्घ गर्दै अगाडि बढिरहेको बताए । ‘स्थापना दिवस मनाइरहँदा हामी दुःखी छौं, आज कोभिडले थिलोथिलो पारेको छ, कति व्यवसायीहरू अहिले पनि संक्रमित हुनुहुन्छ, कति साथीहरू दिवंगत पनि हुनुभएको छ जसले गर्दा हाम्रो उद्योगहरूमा ठूलो समस्या परेको छ,’ उन भनिन् ।
त्यसैगरी महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले ३१ वर्षसम्म धेरै आरोहअवरोह पार गरेको स्मरण गर्दै कोरोना संक्रमणयता साना तथा घरेलु उद्यमी व्यवसायीहरू अत्यन्तै मर्माहत भएको बताए । यस्तो अवस्थामा देशको मेरुदण्डको रूपमा रहेका घरेलु तथा साना उद्योगहरूलाई प्रवद्र्घन गर्नुपर्ने भन्दै सरोकारवालाको ध्यानकर्षण गराए ।
FACEBOOK COMMENTS