काठमाडौं, असोज ५ – नेपालका ९ बैंक, १० कम्पनी र विभिन्न व्यक्तिले सीमापार व्यापारका नाममा ११ वर्ष अवधिमा ३४ अर्ब ८४ करोड २७ लाख रुपैयाँ शंकास्पद धन ओसारपसार गरेको पाइएको छ। सुन, अलकत्र, पुरातात्त्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएका छन्।
खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे) ले अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा यो खुलासा गरेको हो। बैंकहरूले ग्राहकको शंकास्पद आर्थिक गतिविधिबारे निगरानी गरी फिनसेनलाई जानकारी दिएका थिए। ती जानकारी प्राप्त गरी बजफिड न्युज र आईसीआईजेले आफ्ना नेटवर्कमा रहेका पत्रकारहरूसँगको सहकार्यमा गरेको खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको छ। नेपालमा खोज पत्रकारिता केन्द्रका लागि कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँलेले यसको खोजी गरेका हुन्। फिनसेन फाइल्समा सन् २००६ डिसेम्बरदेखि २०१७ मार्चसम्मका आर्थिक कारोबार नियालिएको छ।
फिनसेन फाइल्सको सूचीमा स्ट्यान्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, बैंक अफ काठमान्डू, नेपाल इन्भेस्टमेन्ट, एभरेस्ट, मेगा, हिमालयन बैंक, कास्कीको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल बंगलादेश बैंकको नाम उल्लेख छ। यस्तो कारोबार र ओसारपसारमा प्रत्यक्ष संलग्न १० कम्पनीमा रौनियार ब्रदर्स एन्ड कम्पनी, शुभ समृद्धि ट्रेडर्स, सास्ता ट्रेडिङ, सेतीदेवी एक्सपोर्ट इम्पोर्ट, एलडी इन्टरनेसनल, फेल्ट एन्ड यार्न, ओमन्स पेपर क्राफ्ट, नेपाल इन्भेस्टमेन्ट, एक्मी मनी ट्रान्सफर र सन्नी इन्टरप्राइजेज कम्पनी छन्।
यसबाहेक एक दर्जन जति नेपाली कम्पनी अप्रत्यक्ष रूपमा संलग्न देखिएका छन्। यसमा तीन किसिमका कारोबार छन्। पहिलो, नेपालबाट बाहिरिएको र यता भित्रिएको रकम २१ अर्ब १४ करोड १६ लाख रुपैयाँ छ। दोस्रो, नेपालसहित विभिन्न मुलुकमा भएको एकमुष्ठ शंकास्पद कारोबार ५ अर्ब ७४ करोड २२ लाख रुपैयाँ देखिन्छ। तेस्रो, नेपाली नाम, थर, ठेगाना उल्लेख गरेका व्यक्ति तथा कम्पनीले विदेशमै गरेको शंकास्पद धन कारोबार र ओसारपसार ७ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ देखिन्छ।
इराकबाट भित्रियो शंकास्पद धन
इराकको कुर्दिस्तान ठेगाना भएका हुसामहतिफ नुरले १६ फेब्रुअरी २०१६ मा काठमाडौं महानगरपालिका–६ बौद्धका कोइसी शेर्पालाई १ लाख ४५ हजार रुपैयाँ पठाएका थिए। शेर्पाले नेपालमा रकम भने १ लाख ३९ हजार मात्रै प्राप्त गरेको देखिन्छ। उक्त रकम इराककै बगदादस्थित अलनिबलअल अरबिया मनी ट्रान्सफरले बौद्धकै एक्मी मनी टान्सफर सर्भिसमार्पmत भुक्तानी गरिदिएको थियो।
कइस नजतजलालले ५ मार्च २०१६ मा बगदादको अलनिबलअल अरबिया मनी ट्रान्सफरमार्फत अस्मान घिसिङलाई ९७ हजार रुपैयाँ पठाएका थिए। काठमाडौं महानगरपालिका महांकाल सरस्वतीनगरस्थित कपनको सन्नी इन्टरप्राइजेजमार्फत ९३ हजार रुपैयाँ भुक्तानी भएको थियो। विक्रम गुरुङले १ फेब्रुअरी २०१६ मा बगदादस्थित अलनिबलअल अरबिया मनी ट्रान्सफरबाट ३२ हजार रुपैयाँ नेपाल पठाएका थिए। पोखरा–१ कास्की हरिचौरको एपेक्स डेभलपमेन्ट बैंकको शाखामार्फत शान्ता गुरुङले ३० हजार रुपैयाँ प्राप्त गरेको फिनसेनले जनाएको छ। विक्रमले १० जनवरी २०१६ मा सोही मनी ट्रान्सफरमार्फत मुस्तफा हुसामद्दिन एफखुदुरलाई १ लाख ७८ हजार रुपैयाँ पठाए। खुदुरले इजिप्टको एलेक्जेन्ड्रियास्थित आईबीएजी मनी ट्रान्सफरको मोन्टाजा शाखाबाट उक्त रकम पाए। उल्लिखित कारोबारहरूमा कपनको सन्नी इन्टरप्राइजेजसमेतको संलग्नताले रेमिटेन्सको रूपमा पठाएको पैसा मात्र नहुन सक्ने देखिन्छ। उल्लिखित कारोबारमा संलग्न नेपाली एक्मी मनी ट्रान्सफरका सञ्चालक राजेश लामाले सबै विवरण सोधेर मात्रै रकम भुक्तानी दिने गरेको तर शंकास्पदबारे जानकारी नभएको बताए।
कानुन उल्लंघन
नेपालमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अनुसार बैंक तथा वित्तीय संस्थाहरूले शंकास्पद कारोबारको जानकारी राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) लाई दिनुपर्छ। यसको अर्थ बैंक तथा वित्तीय संस्था यस्ता मामिलाका सूचक संस्था हुन्। जसले आफ्नो बैंक मार्फत गर्ने व्यावसायिक कारोबार, खाता सञ्चालन, तोकिएको रकमभन्दा बढीको आकस्मिक कारोबार, विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) लगायतको काम गर्दा ती ग्राहकको निगरानी गर्नुपर्ने हुन्छ।
कानुनअनुसार, ग्राहकले बेनामी वा काल्पनिक नाममा कारोबार गर्न पाउँदैनन्। कसैले बेनामी वा काल्पनिक नाममा कारोबार गर्न खोजे वास्तविक धनीसमेत पहिचान गर्नुपर्ने कानुनी व्यवस्था छ। यसबाहेक राजनीतिक, प्रशासनिक तथा न्यायिक क्षेत्रका उच्च पदस्थ व्यक्तिहरू र उनीहरूले गर्ने कारोबारको छुट्टै जानकारी राख्नुपर्छ। पहिचान गर्नका लागि सम्बन्धित व्यक्तिसँगै विवरण माग्ने, नभए तेस्रो पक्षसँग समेत जाँचबुुझ गर्नुपर्ने व्यवस्था छ। यसरी प्राप्त सूचना पाँच वर्षसम्म सूचक संस्थाले राख्नुपर्नेछ। गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकलाई रिपोर्टिङ गर्न र ग्राहकको निगरानी गर्न चुकेका बैंकहरूलाई कारबाही गरिएको बताए। भने, ‘कानुनी र संरचनात्मक व्यवस्था हुँदाहुँदै पनि सम्पत्ति शुद्धीकरणका घटना हुँदैनन् भन्ने होइन र कार्यान्वयनमा सशक्त छौँ भन्ने अवस्थामा हामी छैनौं।’
के हो ‘फिनसेन फाइल्स’ ?
अमेरिकालगायतका देशमा हुने व्यापार व्यवसायका क्रममा कुनै व्यक्ति वा संस्थाले शंकास्पद वा अवैध आर्जन, कारोबार गरेर सम्पत्ति शुद्धीकरण र अन्य आपराधिक क्रियाकलाप गर्न खोजेमा बैंक तथा वित्तीय संस्थाले उक्त गतिविधि निगरानी गर्नुपर्छ। त्यस्तो देखिए ६० दिनभित्र फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) लाई जानकारी दिनुपर्छ। यो अमेरिकी सरकारको डिपार्टमेन्ट अफ दी ट्रेजरीअन्तर्गतको निकाय हो। यो अमेरिकी संघीय सरकारको राष्ट्रिय कोषको कार्यालय हो।
विभिन्न कागजातहरूबाट कुनै ग्राहकको बारेमा प्रश्न उठ्ने अवस्था आएपछि अमेरिकी बैंकहरूले त्यसबारे फिनसेनलाई जानकारी गराउने गर्छन्। यस्तो निगरानीका क्रममा प्रत्येक वर्ष फिनसेनमा शंकास्पद धनको कारोबार र ओसारपसार सम्बन्धी १० लाखभन्दा बढी प्रतिवेदनहरू तयार हुन्छन्। फिनसेनका २ हजार १२१ शंकास्पद प्रतिवेदन अमेरिकी सञ्चारगृह ‘बजफिड न्युज’ ले प्राप्त ग¥यो। उसले फिनसेनबाट उक्त प्रतिवेदनहरूसहित २ हजार ६ सय ५७ फाइलहरू आईसीआईजेलाई उपलब्ध गरायो।
त्यसका आधारमा आईसीआईजे, बजफिड न्युज र अन्य सञ्चार संस्थाहरूबीच भएको सहकार्यमा १६ महिना लामो अनुसन्धानपछि यो खुलासा गरेको हो। यो खुलासामा आईसीआईजे, बजफिडसहित ८८ देशका १ सय १० सञ्चारमाध्यम आबद्ध ४ सयभन्दा बढी पत्रकार सहभागी भएर थप खोज गरेका हुन्। फिनसेन फाइल्स सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएको कारोबारको खुलासा हो।
-अन्नपुर्ण दैनिक
FACEBOOK COMMENTS