काठमाडौँ — हङकङ आईडी भएका तर लकडाउनका कारण नेपालमा अलपत्र परेका १४ सय नेपालीमध्ये सोमबार राति ५ सय ८७ जना नेपाल वायुसेवा निगमका तीनवटा जहाजमा हङकङ फर्किँदै छन् ।
तस्बिर सौजन्य स् हङकङस्थित गैरआवासीय नेपाली संघकी अध्यक्ष टिका गुरुङत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार, निगमका दुइटा न्यारोबडी र एउटा वाइडबडी विमान एक–एक घन्टाको अन्तरमा सोमबार राति साढे ८ देखि साढे १० बजे हङकङका लागि उड्ने छन् । ‘यी तीनवटै जहाज फुल छन्,’ निगमका एक उच्च अधिकारीले कान्तिपुरसँग भने, ‘यी तीनवटा चार्टरमध्ये हङकङकस्थित सनराइज ट्राभलले एउटा वाइडबडी र काठमाडौंमा रहेको हारभेष्ट मुन ट्राभल एजेन्सीले दुइटा न्यारोबडी विमान चार्टर गरेको हो ।’
दुइटा न्यारोबडीमा १ सय ५५ का दरले ३ सय १० र एउटा वाइडबडीमा २ सय ७३ यात्रु फर्किने छन् । यीसहित २१ महिनामुनीका ५ शिशु पनि छन् ।
हङकङस्थित गैरआवासीय नेपाली संघकी अध्यक्ष टिका गुरुङले छोराछोरीको स्कुलको पठनपाठनको समय भेटाउन, भिसाको म्याद सकिनबाट जोगिन, अस्पतालको नियमित जाँच नछुटाउन एकतर्फी ३५ हजार रुपैयाँमा बिक्री हुने काठमाडौं हङकङको रुटमा ८५ हजारदेखि १ लाख रुपैयाँ तिरेर यी नेपाली फर्किन लागेको बताइन् । उनले चैतअघि नेपाल आएका विद्यार्थी, कामदार लगायत हङकङको भिसा तथा आइडी भएका नेपाली फर्किन लागेको बताइन् ।
सोमबार हङकङ फर्किन बिहानै ८ बजे विमानस्थलमा काठमाडौं, ललितपुरबाहेक झापा, धरान, सुनसरी, चितवन, भैरहवा, पोखरा, तनहुँ, म्याग्दी लगायतका जिल्लाबाट गाडी रिजर्भ गरेर यात्रु आइपुगेका थिए । ‘१४ सय चानचुन नेपालमा रहेको देखियो । यीमध्ये सोमबार करिब ६ सय जना फर्किने कार्यक्रम हो’, पोखरा मूलघर भएकी गुरुङले भनिन्, ‘बाँकी बिहीबार र शुक्रबार निगमकै चारवटा न्यारोबडी जहाजमा फर्किने कार्यक्रम रहेको छ ।’
अध्यक्ष गुरुङले एकतर्फी ३५ हजारमा बिक्री हुने टिकट एजेन्टहरुबाट तेब्बर महँगोमा किन्नु परेको बताउँदै नेपाल सरकार र पर्यटन मन्त्रालयले कुनै नियमन नै नगरेको गुनासो पोखिन् । ‘वाइडबडीमा जानेले १ लाख र न्यारोबडीमा जानेले ८५ हजारमा टिकट किनेका छन्,’ अध्यक्ष गुरुङले भनिन्, ‘कतिपय कोरोनाको डरले, कतिपयका बच्चाहरुको स्कुल बिदा सकिसक्यो, कतिपयको अस्पतालमा नियमित चेकजाँच छुटेकाले फर्किनुपर्ने बाध्यता आइलाग्यो ।’
यसअघि हङकङ फर्किन चाहने यी नेपालीलाई हिमालय एयरलायन्सले जेठ ९ गते ६५ हजारमा लैजाने सहमति भएको थियो । तर, हिमालयलाई हङकङको अनुमति नपाएपछि यात्रुहरुले निगमको जहाज छनोट गर्नुपरेको थियो । निगमले टिकट बिक्री गर्ने एजेन्टलाई न्यारोबडी प्रतिघन्टा ८ हजार ७ सय डलर र वाइडबडी १८ हजार डलर भाडा तिर्ने शर्तमा चार्टर गराएको हो ।
टिकट बिक्री गर्ने एजेन्टले यात्रुलाई महँगो टिकट बिक्री गरेर आम्दानी गर्नेबाहेक निगमबाट कुल कारोबारमा ५ प्रतिशत कमिशन पनि पाउँछन् ।
लकडाउन सुरु भएको ७७ दिनयता हङकङका लागि भएको यो पहिलो उडान हो ।
कान्तिपुर दैनिक
FACEBOOK COMMENTS