अन्जनराज न्यौपाने,
तनहुँ, २३ आश्विन- ४ रोपनी जग्गामा प्राकृतिक रुपमा फैलिएको लागु औषध गाँजाका ४ सय ५० बोटहरु प्रहरी र स्थानीय समुदायको सक्रियतामा नष्ट गरिएको छ ।
जिल्लाको पवित्र धार्मिक क्षेत्र देवघाट गाउँपालिका -२ लेखस्वारा र बेसार्दी भन्ने स्थानमा लागु औषध गाँजा खेती रहेको भन्ने सुचनाको आधारमा उक्त स्थानमा ईलाका प्रहरी कार्यालय साराङ्घाट तनहुँबाट खटिएको विशेष प्रहरीको टोलीले उक्त लागु औषध गाँजाका बोटहरु विहिबार नष्ट गरेको हो।
यसैगरी, जिल्लाको भिमाद नगरपालिका – १ गोर डाडा र सो आसपासका क्षेत्रहरुमा प्राकृतिक रुपमा उम्रि फैलिएको हरियो १ सय भन्दा बढी गाँजाका बोटहरु प्रहरी चौकी किहुँ तनहुँबाट खटिएको प्रहरी टोलीले नस्ट गरेको छ ।
उक्त क्षेत्रमा १ रोपनी जग्गामा फैलिएको गाँजा फडानी गरी स्थानिय मानिसहरुको सहयोगमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिएका छन् । त्यसैगरि चाँडबाड नजिकिदै गर्दा जिल्लाका विभिन्न स्थानहरूमा विशेष सुरक्षा ब्यबस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक तिमल्सिनाले बताए ।
लागूऔंषध ओसारपसार ,खरिद,विक्रिवितरण गर्नेहरु उपर चर्को निगरानी गरिएको समेत उनले जानकारी दिए। लागू औंषध ओसारपसार ,खरिदबिक्री गर्ने गिरोहको व्यापक खोजतलास भैरहेको समेत उनले जनाएका छन् ।
FACEBOOK COMMENTS