काठमाडौं,फागुन ३०- नेपाल राष्ट्र बैंकले ५० लाख भन्दा कम कर्जाका लागि अब कर चुक्तासम्बन्धी कुनै पनि प्रमाणपत्र बुझाउनु नपर्ने नयाँ ब्यबस्था गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै ५० लाखको सीमासम्म ऋण लिँदा त्यस्तो कुनै पनि कागजात आवश्यक नपर्ने जनाएको हो ।
त्यस्तै राष्ट्र बैंकले कर दाखिला कागजको आधारमा ५० लाख देखि २ करोडसम्मको कर्जा नवीकरण गर्न सकिने व्यवस्था गरेको छ । २ करोड भन्दा बढीको कर्जा लिँदा वा नवीकरण गर्दा अनिवार्य कर चुक्ता प्रमाणपत्र आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ ।
कृषि पर्यटन, साना तथा मझौला उद्योग व्यवसायका लागि ५० लाखदेखि बढीमा २ करोड रुपैयाँसम्मको ऋणका लागि कर दाखिला कागजातका आधारमा कर्जा प्रवाह र नवीकरण गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
यसअघि राष्ट्र बैंकले बैंकहरुलाई करचुक्ता प्रमाणपत्रको आधारमा मात्रै ऋण दिन र त्यस्तो ऋण दिँदा ऋण भुक्तानी–आम्दानी अनुपात करयोग्य आम्दानीको ५० प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था गरेको थियो । तर त्यसको केही समय पछि मात्रै राष्ट्र बैंकले कर चुक्ता प्रमाणपत्रको सट्टा कर दाखिला प्रमाणपत्र भए हुने व्यवस्था गरेको थियो ।
FACEBOOK COMMENTS