लमजुङ- लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा कम विद्युत उत्पादन हुन थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहावमा कमी आएपछि परियोजनाबाट उत्पादन हुँदै आएको विद्युत् उत्पादनमा कमी आएको हो । बर्खाको समय टर्बाइन खुल्ला छोड्दा ७२ मेगावाटसम्म उत्पादन भएको उक्त जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ४६ मेगावाट मात्रै उत्पादन हुने गरेको छ ।
उक्त जलविद्युत् केन्द्रमा राति र दिउँसो एउटा टर्बाइन बन्द गरी एउटा टर्बाइन मात्रै सञ्चालन गर्ने गरिएको छ । मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख पशुपतिराज गौतमले दिउँसो २ देखि ३ घण्टा र राति ३ देखि ४ घण्टाको समय एउटा मात्रै टर्बाइन सञ्चालन गरी पानी सञ्चित गरिएको बताए ।
कात्तिक २० बाट पूरै गेट बन्द गरेर पानीलाई सुरुङमार्फत जलविद्युत् उत्पादनमा प्रयोग गरिएको उनले बताए ।
उनले भने यसपटकको हिउँदमा गत वर्षको तुलनामा उत्पादन अझ घट्न सक्छ । ‘छिटो नदी सुकेपछि बिजुली उत्पादन गत वर्ष भन्दा कम हुने सम्भावना छ,’ उनले भने, ‘गएको वर्ष औसत २७ मेगावाटसम्म थियो । यो वर्ष झन् घट्ने देखिएको छ ।’ -नयाँ पत्रीका
FACEBOOK COMMENTS